रविन्द्र कट्टेल
काठमाण्डौ - वर्षौंसम्म देशलाई गाँजेको बेथिति, सत्ताको खेलमा फसफसिएको नातावाद र कृपावाद, दलाल पूँजीपतिहरूको पैसाको साम्राज्य, र न्याय बेचेको राजनीति—यी सबै अब जेन जी आन्दोलनको लहरमा ढलिरहेका छन्। सडकमा नारा गुञ्जिन्छ, "जनताको सरकार, जनताको हातमा", र यो केवल नारामात्र होइन, क्रान्तिको उद्घोष हो।
सुदन गुरुङको साहसी नेतृत्वमा सुरु भएको यो आन्दोलनले सत्ताको भरियाहरूमाथि कडा प्रहार गर्यो। दशकौंसम्म पार्टीका नाममा गरिएको सत्ता बाँडफाँड, परिवार र आफन्तलाई राज्यको स्रोतमा हालीमुहाली गर्ने प्रथा, ठेक्कापट्टामा कमिसनखोरी गर्ने प्रवृत्ति, अदालतदेखि प्रशासनसम्मै घूसको जालो—यी सबै उजागर गर्दै आन्दोलनले जनतालाई उठाइदियो।
देशका युवाहरूले देखेका बेथितिहरूलाई वेवास्ता गरिएन। अस्पतालमा उपचार नपाएर आम जनता मर्ने, शिक्षामा धनी र गरीबबीच असमानता बढ्ने, किसानको पसिनालाई बिचौलियाले निचोर्ने, रोजगारी खोज्दै विदेश पलायन हुने युवाको पीडा—यी सबै अब आन्दोलनको एजेन्डा बने। यो केवल राजनीतिक सत्ता परिवर्तन होइन, सामाजिक क्रान्ति हो।
जेन जी आन्दोलनले देखाएको दृढताले अब नेताहरूलाई जनतामाथि प्रभु बन्ने होइन, सेवक बन्ने चेतावनी दिएको छ। नातावाद र कृपावादको संस्कारमा पलाएका नेताहरूको दिन अब ढल्दै छ। देशको ढुकढुकी युवापुस्ताले कब्जा गरिसकेको छ।
यही पृष्ठभूमिमा, देशले पहिलो पटक महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई देखेको छ। न्यायको लागि जीवनभर लडेकी उनी अब जनताको सरकारको नेतृत्व गरिरहेकी छन्। उनको नियुक्तिले केवल राजनीतिको इतिहासमा मात्र नभई सामाजिक चेतनामा पनि नयाँ अध्याय सुरु भएको छ। अब महिलाले नेतृत्व गर्ने, युवाले निर्णय गर्ने र जनताले आफ्नो भविष्य लेख्ने बाटो खुलेको छ।
वीर शहीदहरूको बलिदान यस आन्दोलनको मेरुदण्ड हो। उनीहरूको रगतले रंगिएको सडक अब जनताको विजयी पदयात्राको प्रतीक बनेको छ। आँसु ग्यास र लाठी सहने, तर पछि नहट्ने युवाहरूको आत्मबलले नै भ्रष्टाचारको साम्राज्यलाई कम्पाइ दिएको छ।
नेपाल अहिले संक्रमणमा छ, तर यो संक्रमणले उज्यालो भविष्य बोकेको छ। भ्रष्टाचार, असमानता, नातावाद, कृपावाद र दलाल पूँजीवादविरुद्धको यो विद्रोहले नयाँ नेपालको खाका कोरेको छ। जहाँ राज्य जनताको सेवक हुनेछ, न्याय पैसाले होइन, बराबरीका आधारमा बाँडिनेछ, अवसर सबैलाई समान हुनेछ, र युवाको पसिना यही मातृभूमिमा फलिफाप हुनेछ।
जेन जी आन्दोलन केवल एक पुस्ताको विद्रोह होइन, यो समग्र राष्ट्रको पुनर्जन्म हो। आज नेपालको हरेक गली र सडकले यही उद्घोष गरिरहेको छ—"नयाँ नेपाल जन्मिएको छ।"