दोस्रो पुस्तालाई नेपालसँग जोड्ने डा. हेमराज शर्माको योजना: भाषा, खेलकुद र समर भिजिटमार्फत नयाँ अभियान

ecopolinews.com

काठमाडौं । गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association) का उपाध्यक्ष तथा भावी अध्यक्षका प्रमुख उम्मेदवार Hemraj Sharma ले दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालप्रति आकर्षित गर्न दीर्घकालीन र संरचनागत योजना अघि सारेका छन्।

एनआरएनएको १२औँ अधिवेशन तथा विश्व सम्मेलन अन्तर्गत आयोजित ‘दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व’ विषयक सत्रमा वक्ताका रूपमा धारणा राख्दै शर्माले दोस्रो पुस्तालाई संस्थागत रूपमा जोड्न एनआरएनएमै विशेष युथ कोर्डिनेटर नियुक्त गर्ने योजना सार्वजनिक गरे।

उनका अनुसार विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका युवालाई नेपालसँग प्रत्यक्ष अनुभवमार्फत जोड्न समर भ्याकेसनमा एक महिनाको विशेष नेपाल कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमअन्तर्गत:

पहिलो हप्ता बाबुआमासँग पारिवारिक समय

दोस्रो हप्ता मन्दिर तथा सांस्कृतिक स्थल भ्रमण

तेस्रो हप्ता आफ्नो रुचि वा विज्ञतासँग सम्बन्धित क्षेत्रमा सहभागिता

चौथो हप्ता स्वतन्त्र अनुभवका लागि खुला समय

शर्माले यस प्रकारको कार्यक्रमले नेपाललाई केवल पारिवारिक पहिचान होइन, व्यक्तिगत अनुभवको देश बनाउने विश्वास व्यक्त गरे।

खेलकुदलाई पनि दोस्रो पुस्ता जोड्ने प्रभावकारी माध्यमका रूपमा अघि सार्दै उनले ‘एनआरएनए लिग’ विश्वका विभिन्न देशमा सञ्चालन गर्न सके नेपाली मूलका युवालाई नेपालको राष्ट्रिय खेल संरचनासँग जोड्ने सम्भावना खुल्ने बताए ।

उनले भने, यदि नागरिकताको व्यवस्थामा सहजीकरण भयो भने विदेशमा हुर्किएका नेपाली मूलका खेलाडीहरू भविष्यमा नेपालको राष्ट्रिय टोलीमा समेत सहभागी हुनसक्ने बाटो खुल्नेछ।

यसैगरी दोस्रो पुस्ताका युवाका लागि डिजिटल नेपाली भाषा पाठ्यक्रम निर्माण गर्ने योजना पनि उनले सुनाए। डिजिटल माध्यमबाट नेपाली भाषा, इतिहास, संस्कृति र पहिचान सिकाउने कार्यक्रमले नयाँ पुस्तालाई भावनात्मक रूपमा नेपालसँग जोड्ने उनको विश्वास छ।

शर्माले Myanmar मा पाँचौँ पुस्तासम्म नेपाली भाषा र संस्कृति जोगिएको उदाहरण दिँदै युरोपेली मुलुकहरूमा त्यो निरन्तरता कायम गर्न चुनौती रहेको बताए। त्यसैले नयाँ पुस्तासम्म नेपाल चिनाउने विविध माध्यम अपनाउनुपर्नेमा उनले जोड दिए।

उनले अन्त्यमा नेपाल सरकारले विदेशमा अध्ययन गरेर दक्षता हासिल गरेका नेपाली युवालाई फर्काउने नीति निर्माण गर्नुपर्ने बताए। उनका अनुसार, ज्ञान, सीप र अन्तर्राष्ट्रिय exposure सहितको युवा पुस्ता नेपाल फर्किए मात्र दीर्घकालीन विकासको नयाँ आधार तयार हुन्छ।

प्रतिक्रिया