काठमाडौं । गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association) को नयाँ नेतृत्व अब सहमतिबाट चयन हुने भएको छ। अध्यक्ष पदका प्रत्याशी Robin Sherchan ले अर्का उम्मेदवार Hemraj Sharma लाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
शेरचनले संस्थाको दीर्घकालीन एकता, स्थायित्व र साझा उद्देश्यलाई केन्द्रमा राख्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन्। पछिल्लो समय विभाजनको अवस्थाबाट बाहिर आएर संगठन पुनः एकीकृत बनेको सन्दर्भमा नेतृत्व चयनलाई प्रतिस्पर्धाभन्दा सहमतिमा टुंग्याउने वातावरण बनेको हो ।
एनआरएनए हालै मात्र एकीकृत संरचनामा फर्किएको अवस्थामा शनिबारदेखि सुरु हुने १२औँ महाधिवेशन अघि सहमतिको सन्देश दिन नेतृत्व तहमा गम्भीर छलफल भएको बताइएको छ। यही सहमति प्रक्रियालाई व्यवस्थित गर्न निर्वाचन कार्यतालिकासमेत संशोधन गरिएको छ।
संगठनभित्रका नेताहरूले “निर्वाचनले भन्दा सहमतिले संस्थाको एकता बलियो बनाउँछ” भन्ने निष्कर्षसहित साझा नेतृत्व निर्माणतर्फ अघि बढेको बताएका छन्।
अब अध्यक्ष पदमा हेमराज शर्मा को नेतृत्वमा सहमतिको सम्भावना बलियो देखिएको छ भने बाँकी पदहरूमा पनि सहमतिका आधारमा जिम्मेवारी बाँडफाँट हुने अपेक्षा गरिएको छ।