एनआरएनएको वैदेशिक रोजगार टास्कफोर्सको कमान्ड खगेन्द्र न्यौपानेलाई: श्रमिकको हकहित र नीतिगत सुधार मुख्य एजेन्डा

ecopolinews.com

रविन्द्र कट्टेल - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासमा रहेका लाखौँ नेपाली श्रमिकहरूको मुद्दालाई सम्बोधन गर्न आफ्ना प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। संघको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार न्यौपानेलाई सन् २०२५-२०२७ कार्यकालका लागि 'वैदेशिक रोजगार टास्कफोर्स' को संयोजकमा नियुक्त गरिएको हो। यो नियुक्तिलाई विश्वभर छरिएका नेपाली श्रमिकहरूको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्ने दिशामा संघको एक रणनीतिक कदमका रूपमा हेरिएको छ।

नवनियुक्त संयोजक न्यौपानेले जिम्मेवारी सम्हाले लगतै वैदेशिक रोजगारीका क्षेत्रमा विद्यमान श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल र कानुनी जटिलता जस्ता जल्दाबल्दा समस्याहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँका अनुसार अब छिट्टै दक्ष र अनुभवी सदस्यहरू सम्मिलित टास्कफोर्स गठन गरिनेछ, जसले गन्तव्य मुलुकका सरकारी निकाय र नेपाली कूटनीतिक नियोगहरूसँग समन्वय गरी परिणाममुखी कार्ययोजना (ToR) कार्यान्वयन गर्नेछ।

विशेष गरी नेपाल सरकारसँगको नीतिगत पैरवी र विभिन्न मुलुकहरूसँग भएका श्रम सम्झौताहरूलाई श्रमिकमैत्री बनाउन यो टास्कफोर्सले सेतुको काम गर्ने अपेक्षा गरिएको छ। लामो समयदेखि प्रवासमा रहेका नेपालीहरूको सुख-दुःखमा सारथि बन्दै आउनुभएका न्यौपानेको नेतृत्वले वैदेशिक रोजगारीमा देखिएका संरचनागत समस्या समाधानमा ठोस इँटा थप्ने विश्वास गरिएको छ। एनआरएनएको यो सक्रियताले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन थप बल पुग्ने देखिन्छ।


प्रतिक्रिया