लमजुङ नेपालको राजनीतिक इतिहासमा एउटा महत्त्वपूर्ण अध्याय हो। भौगोलिक रूपमा हिमाल र पहाडको संगम स्थल, सांस्कृतिक रूपमा विविधता र सहिष्णुताको प्रतीक, र राजनीतिक रूपमा कांग्रेसको परम्परागत गढका रूपमा परिचित यो जिल्ला अहिले गम्भीर संक्रमणको चरणमा छ। विगतका आन्दोलनहरूमा यहाँका कार्यकर्ताहरूले देखाएको योगदान र बलिदानलाई सम्झँदा कांग्रेसले यहाँ गहिरो संगठनात्मक आधार बनाएको थियो। तर आज त्यही कांग्रेस गुटबाजी, असंगठित नेतृत्व र भविष्यको दिशाहीन यात्राले कमजोर हुँदै गएको छ।
लमजुङमा कांग्रेसको संरचना अझै पनि पुरानो पुस्ताले नियन्त्रण गरिरहेको छ। गाउँ–गाउँमा संगठन फैलिएको भए पनि निर्णय प्रक्रियामा युवाको स्थान गौण देखिन्छ। चुनावी समय आउँदा मात्र उनीहरूलाई परिचालन गर्ने, तर नीतिगत बहस वा नेतृत्व विकासमा सामेल नगर्ने प्रवृत्ति स्थायी रोगजस्तै बनेको छ। यसले गर्दा कांग्रेसभित्र नयाँ पुस्ताको निराशा बढ्दै गएको छ। राजनीति सिक्न उत्साहका साथ प्रवेश गरेका युवाहरू गुटगत खेलमा प्यादाजस्तो प्रयोग भएको महसुस गर्छन्, जसले गर्दा उनीहरूमा वैकल्पिक राजनीतिक सोच र प्रवृत्ति जन्माइरहेको छ।
राष्ट्रिय स्तरमा कांग्रेसले भोगिरहेको गुटगत राजनीति लमजुङमै झल्किएको छ। शेखर–गगन पक्ष र देउवा पक्षबीचको द्वन्द्वले जिल्ला संगठनलाई पनि दुई खेमामा विभाजित गरेको छ। सभापतिदेखि वडा तहसम्म नेतृत्व चयनमा योग्यता र योगदानभन्दा बढी ‘कसको मान्छे हो’ भन्ने समीकरणले भूमिका खेल्छ। यसले कांग्रेसको संगठनात्मक सामर्थ्यलाई कमजोर बनाइदिएको छ र प्रत्यक्ष रूपमा निर्वाचन नतिजामा असर पारेको छ। विगतका केही निर्वाचनहरूमा लमजुङ कांग्रेसले पराजय भोग्नुको मुख्य कारण यही गुटीय असहमति र कार्यकर्ताबीचको अविश्वास हो भन्ने तथ्यलाई नकार्न सकिँदैन।
लमजुङको समाजिक संरचना विविधतापूर्ण छ—गुरुङ, मगर, तामाङ, ब्राह्मण, क्षेत्री, दलित ,कुमाल ,नेवार लगायतका समुदायहरूले सहअस्तित्वमा बस्दै आएका छन्। यी समुदायहरूबीचको सांस्कृतिक सहिष्णुता र सामाजिक बन्धन बलियो भए पनि राजनीतिले यसलाई खण्डित बनाएको छ। चुनावी समीकरणका आधारमा समुदायहरूलाई विभाजन गर्ने अभ्यास, उम्मेदवार चयनमा जातीय र क्षेत्रीय समीकरणलाई प्राथमिकता दिने प्रवृत्ति अझै बलियो छ। यसले सामाजिक एकतालाई कमजोर बनाउँदै पार्टीप्रतिको विश्वासलाई पनि कमजोर बनाइरहेको छ।
प्रशासनिक संरचनामा समेत राजनीतिक हस्तक्षेप गहिरो छ। प्रहरीदेखि स्थानीय निकायसम्म, नेताको गुटसँग नजिक भएकाहरूलाई मात्रै सुविधा पुग्ने अवस्था बनेको छ। जनताका वास्तविक समस्याभन्दा नेताहरूको शक्ति प्रदर्शन र गुटबाजीकै विषय प्रमुख हुने प्रवृत्तिले सामान्य जनतालाई राजनीतिप्रति वितृष्णा गराइरहेको छ। युवाले रोजगार, विकास र भविष्य खोजिरहेका छन्, तर दलहरू भने आफ्नो आन्तरिक द्वन्द्वमै अल्झिएका छन्।
यसबीचमा माओवादी केन्द्र, एमालेजस्ता दलहरू पनि लमजुङमा सक्रिय छन्, तर कांग्रेसकै विभाजन र कमजोरीले उनीहरूलाई बलियो हुने अवसर दिएको छ। एक समय कांग्रेसकै गढ मानिने क्षेत्रमा अहिले अन्य दलहरू प्रतिस्पर्धीको रूपमा मात्र होइन, विकल्पको रूपमा पनि प्रस्तुत हुन थालेका छन्। यसले कांग्रेसको परम्परागत पकडलाई नै चुनौती दिएको छ।
तर सबै कुरा निराशाजनक मात्रै छैन। लमजुङका युवाहरू अझै पनि राजनीतिकरूपमा सक्रिय छन्। उनीहरूमा ऊर्जाशीलता, सामुदायिक सेवामा संलग्न हुने मानसिकता र नयाँ प्रकारको राजनीति गर्ने चाहना देखिन्छ। साहित्य, खेलकुद, सामाजिक अभियानमार्फत उनीहरूले आफ्नो नेतृत्व क्षमताको प्रदर्शन गरिरहेका छन्। यदि कांग्रेसले यी युवालाई उचित स्थान र अवसर दिन सक्यो भने संगठनलाई फेरि गतिशील बनाउन सकिन्छ। तर यदि उनीहरूलाई केवल भीड बढाउने साधनका रूपमा मात्र हेर्ने प्रवृत्ति जारी रह्यो भने कांग्रेसले आफ्नो भविष्य आफ्नै हातले गुमाउनेछ।
राष्ट्रिय राजनीतिले दिएको सन्देश स्पष्ट छ—जनतामा असन्तोष बढ्दो छ, युवामा वैकल्पिक सोच पलाउँदै छ, र दलहरू गुटीय दलदलमै अल्झिए स्थिरता सम्भव छैन। लमजुङ कांग्रेसले यसलाई अवसरका रूपमा लिन सक्छ। यहाँको सांस्कृतिक विविधतालाई संगठनात्मक एकताको आधार बनाउन सकिन्छ। पुरानो पुस्ताले अनुभव बाँड्न सक्छ र नयाँ पुस्ताले दृष्टि दिन सक्छ। यही सहकार्यले कांग्रेसलाई लमजुङमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि नयाँ सन्देश दिनेछ।
अहिले प्रश्न के हो भने—लमजुङको कांग्रेस अझै अतीतमा रमाउँछ कि भविष्य निर्माणतिर लाग्छ? गुटगत राजनीति कायम रह्यो भने कांग्रेस लमजुङमै कमजोर हुँदै जानेछ, जसको असर राष्ट्रिय स्तरमै देखिनेछ। तर युवाको नेतृत्वलाई आत्मसात् गरेर, पारदर्शी र समावेशी राजनीति गर्ने साहस देखायो भने कांग्रेस फेरि पनि जनताको पार्टी बन्न सक्छ।
लमजुङको राजनीति केवल एक जिल्लाको कथा होइन, यो नेपालको राजनीतिक संस्कृतिको प्रतिबिम्ब हो। गुटबाजी र स्वार्थको राजनीति कायम रह्यो भने लोकतन्त्र नै कमजोर हुन्छ। तर एकता, सहकार्य र नयाँ पुस्ताको नेतृत्वलाई अंगाल्न सकियो भने यहीँबाट नयाँ राजनीतिक यात्राको सुरुवात हुन सक्छ। धन्यवाद ।