काठमाडौं, असोज २४ — ललितपुरस्थित नख्खु कारागारबाट फरार कैदी आकाश मगरले ठमेलमा एक युवकको खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ।
१३ असोजमा भएको यो घटनाले देशभरका कारागार व्यवस्थापन र सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।
प्रहरीका अनुसार २५ वर्षीय सुरज तामाङ, जो मकवानपुरका स्थायी बासिन्दा र हाल मनमैजु बस्दै आएका थिए, उनीमाथि मगरले ठमेलमा धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए।
गम्भीर घाइते तामाङलाई उपचारका लागि तत्काल वीर अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरे।
प्राथमिक अनुसन्धानअनुसार, पुरानो रिसईबीकै कारण हत्या भएको आशंका गरिएको छ। घटनास्थल वरिपरिका सीसीटीभी फुटेज र प्राविधिक प्रमाणहरूका आधारमा मगरकै संलग्नता पुष्टि भएको एक प्रहरी अधिकृतले बताएका छन्।
तर, हत्या आरोपी अझै फरार छन्। प्रहरीको खोजी टोली सक्रिय भए पनि अहिलेसम्म उनको ठेगाना पत्ता लागेको छैन।
जेन–जी आन्दोलनको बेलामा भागेका थिए मगर
लुटपाट तथा डकैतीको मुद्दामा जेल चलान भएका मगर २४ भदौमा ‘जेन–जी आन्दोलन’को क्रममा कारागार तोडफोडपछि फरार भएका थिए। सोही आन्दोलनमा देशभरका विभिन्न कारागारहरूबाट कैदीबन्दीहरू ठूलो संख्यामा भागेका थिए।
यसअघि पनि नख्खु कारागारबाटै भागेका काभ्रेका सन्तबहादुर तामाङले आफ्नी श्रीमतीको हत्या गरेको घटना ताजा छ।
लगातार यस्ता अपराध दोहोरिँदै गएपछि देशभरको कारागार सुरक्षाप्रति गम्भीर प्रश्न उठेका छन्।
सुरक्षा चुनौती अझै उच्च
कारागार व्यवस्थापन विभागका अनुसार, २४ भदौको आन्दोलनपछि करिब १५ हजार कैदीबन्दी फरार भएका थिए, जसमा अहिले पनि साढे पाँच हजारभन्दा बढी कैदीहरू फरार नै रहेका छन्।
यही विषयमा विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले कारागार विभागलाई फरार कैदीहरूको विवरण र क्षति भएका कारागारहरूको रिपोर्ट माग गरेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले सम्पूर्ण विवरण संकलन गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्।
नख्खु कारागारबाटै सुरु भएको यो शृंखला अहिले राष्ट्रिय सुरक्षा प्रणालीमाथिको ठूलो चुनौती बनेको छ।प्रहरीले फरार आकाश मगरको खोजी तीव्र बनाएको बताएको छ तर सर्वसाधारणमा डर र असुरक्षाको भावना अझै कायमै छ।