१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित एउटा साधारण देखिने घरभित्र प्रहरीले छापा मार्दा करोडौँ नगद र सुन बरामद भएको छ । आफ्नै घरमा करिब चार करोड रुपैयाँ नगद लुकाएर राखेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले विशेष सूचनाका आधारमा छापा मार्दा यस्तो तथ्य बाहिर आएको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि श्रेष्ठलाई मिटरब्याजी धन्दामा संलग्न रहेको दाबी गरेको छ ।
प्रहरीका अनुसार, श्रेष्ठले सुनका गरगहना धितो राखेर उच्च ब्याजमा पैसा लगानी गर्ने गरेका थिए । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले भने, “प्रारम्भिक अनुसन्धानमा उनी मिटरब्याजी रहेको देखिन्छ । उनले अनुचित तरिकाले धितो राखी लेनदेन गरेका छन्,” भन्दै घटनाको थप अनुसन्धान भइरहेको जनाए ।
छापा मार्दा प्रहरीले करिब ३ करोड ७५ लाख रुपैयाँ नगद बरामद गरेको छ भने थप सुनका गरगहना समेत भेटिएको बताइएको छ । बरामद सुनको तौल र परीक्षण अझै भइरहेको प्रहरीले जनाएको छ ।
गोंगबुस्थित घर मात्र नभई, श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ । प्रहरीको भनाइअनुसार, ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचनाका आधारमा गरिएको कारबाहीले राजधानीमै चल्दै आएको मिटरब्याजी जालो खुलासा भएको छ ।