रविन्द्र कट्टेल - काठमाडौँ उपत्यकाको सडक अनुशासन र ट्राफिक व्यवस्थापनलाई थप कडा र व्यवस्थित बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले सम्झौताहीन कदम चाल्ने उद्घोष गर्नुभएको छ। गृहमन्त्रीको स्पष्ट निर्देशन र बलियो साथ पाएपछि एसएसपी अधिकारीले अब सामान्य आर्थिक जरिवानाले मात्रै सडकमा हुने अराजकता नरोकिने भन्दै गम्भीर प्रकृतिका नियम उल्लंघन गर्ने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै खारेज गर्ने चेतावनी दिनुभएको हो। जसले सडक अनुशासनको धज्जी उडाउँछ र लापरबाहीपूर्ण ढंगले सवारी चलाएर नागरिकको ज्यान जोखिममा पार्छ, त्यस्ता व्यक्तिहरूलाई अब ५०० को चिट काटेर मात्र नछाडिने र सिधै कानुनी कठघरामा उभ्याइने उहाँको दृढ अडान छ।
एसएसपी नवराज अधिकारीको कमान्ड सम्हालेयता उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेख्य र सकारात्मक सुधारहरू देखिएका छन्। उहाँकै दुरदर्शी नेतृत्व र कडा कार्यशैलीका कारण सडकमा हुने बिचौलियाको चलखेल अन्त्य हुँदै गएको छ भने ट्राफिक नियमको पालनामा सर्वसाधारण र चालकहरू थप सचेत बन्न थालेका छन्। उपत्यका ट्राफिक कार्यालयलाई प्रविधिमैत्री र भ्रष्टाचारमुक्त बनाउन अहोरात्र खटिनुभएका अधिकारीले सडक सुरक्षालाई प्रतिष्ठाको विषय बनाउँदै "नियम पालना नगर्नेलाई कुनै पनि हालतमा नछाड्ने" कडा सन्देश प्रवाह गर्नुभएको छ। अबको दिनमा सडकमा देखिने लापरबाहीको मूल्य चालकले आफ्नो लाइसेन्स गुमाएर चुकाउनुपर्ने छ, जसले उपत्यकाको यातायात प्रणालीलाई थप मर्यादित र सुरक्षित बनाउने विश्वास गरिएको छ।