काठमाडौं, असोज ६ – माइतीघरस्थित दुई सरकारी वकिल कार्यालयबाट ठूला मुद्दाका फाइल योजनाबद्ध रुपमा गायब भएको खुलासा भएको छ। प्रारम्भिक अध्ययनमा कर फर्स्यौट आयोगको भ्रष्टाचार मुद्दा, स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण र तीनकुने घटनासम्बन्धी फाइल लक्षित गरी चोरी तथा आगजनी गरिएको देखिएको छ।
विशेष सरकारी वकिल कार्यालयका अनुसार कर फर्स्यौट आयोगको भ्रष्टाचार मुद्दासम्बन्धी कागजात मात्रै हराउनु शंकास्पद भएको छ। सो मुद्दामा तत्कालीन महानिर्देशक चुडामणि शर्मा प्रतिवादी छन्।
त्यसैगरी जिल्ला सरकारी वकिल कार्यालयबाट स्वर्णलक्ष्मी सहकारी प्रकरण (जसमा पूर्वगृहमन्त्री रवि लामिछाने प्रतिवादी) र तीनकुनेको हिंसात्मक घटनासम्बन्धी फाइल समेत हराएको छ। उक्त घटनामा दुर्गा प्रसाई, धवलशम्शेर जबरा र रविन्द्र मिश्रलगायत संलग्न रहेको आरोप छ।
महान्यायाधिवक्ता कार्यालयले आन्दोलनको मौका पारेर निश्चित व्यक्तिसम्बन्धी फाइल मात्र गायब पारिएको भन्दै यो योजनाबद्ध अपराध भएको निष्कर्ष निकालेको छ। अन्य फाइल वा दराजमा भने खासै क्षति नभएको देखिएको छ।
सरकारका उच्च स्रोतका अनुसार आन्दोलनमा घुसपैठ गरी सरकारी सम्पत्ति नष्ट गर्ने र संवेदनशील मुद्दाका फाइल चोरी गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा प्रधानमन्त्री सुशील कार्की र मन्त्रीहरूले व्यक्त गरेका छन्।
यस घटनाले संवेदनशील मुद्दाका फाइल सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
६ असोज २०८२, सोमबार ११:१५ मा प्रकाशित