पोखरा, १० वैशाख - पोखराको लेकसाइड र सिमलचौर क्षेत्रमा नक्कली पेस्तोल देखाएर सर्वसाधारण तथा पर्यटकलाई त्रसित बनाउने दुई जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौर बस्दै आएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ रहेका छन्। तनहुँको व्यास नगरपालिका स्थायी घर भई हाल पोखरामा बस्दै आएका उनीहरूले आफूलाई त्यस क्षेत्रको ‘डन’ बताउँदै स्थानीय व्यवसायी र घुम्न आउने पर्यटकलाई धम्क्याउने गरेको प्रहरीले जनाएको छ।
बिहीबार साँझ सिमलचौर क्षेत्रमा हतियार देखाएर भय सिर्जना गरिरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूको कोठा खानतलासी गर्दा प्रहरीले एक थान नक्कली पेस्तोल, सोको कभर, एउटा फलामको स्लाइड स्टिक र दुई थान चक्कु समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पर्यटकीय राजधानी पोखराको शान्ति सुरक्षामा खलल पुर्याउने र गुन्डागर्दीजन्य गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले प्रष्ट पारेको छ।