काठमाडौँ । Non-Resident Nepali Association को १२औँ महाधिवेशनबाट डा. हेमराज शर्माको नेतृत्वमा नयाँ जम्बो कार्यसमिति घोषणा गरिएको छ। महाधिवेशनमा विभिन्न पक्षबीच सहमति कायम गर्दै ‘एकता र समावेशिता’ को सन्देश दिन व्यापक प्रतिनिधित्वसहित कार्यसमिति निर्माण गरिएको बताइएको छ।
निर्वाचन समितिले मंगलबार राति सचिवालयमार्फत सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा झण्डै दुई दर्जन प्रतिनिधि चयन गरिएका छन्, जसले संघभित्र विभिन्न भूगोल, अनुभव र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास देखिएको छ।
महासचिवमा डा. चिरञ्जीवी खड्का चयन भएका छन् भने कोषाध्यक्षमा कृष्णप्रसाद तिम्सिना निर्वाचित भएका छन्। प्रवक्ताको जिम्मेवारी सोम सापकोटाले पाएका छन्। उपमहासचिव, सचिव, सह-कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक तथा क्षेत्रीय संयोजकहरू समेत सर्वसम्मत ढंगले समेटेर कार्यसमिति विस्तार गरिएको छ।
महाधिवेशनमा निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठका साथै पूर्वअध्यक्ष आरके शर्मा, विनोद कुँवरलगायतको उपस्थिति रहेको थियो। नेतृत्व चयनसँगै संघभित्र विगतका मतभेद अन्त्य गर्दै साझा संरचनाबाट अगाडि बढ्ने संकेत गरिएको छ।
नयाँ कार्यसमितिमा अफ्रिका, अमेरिका, एसिया-प्यासिफिक, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रलाई अलग-अलग संयोजकमार्फत प्रतिनिधित्व दिइएको छ। महिला, युवा र दोस्रो पुस्तालाई समेत संरचनामा स्थान दिइनुले आगामी कार्यकाललाई थप समावेशी बनाउने अपेक्षा गरिएको छ।
विश्लेषकहरूका अनुसार जम्बो संरचना तत्कालीन शक्ति सन्तुलन मिलाउने माध्यम बने पनि अब यसको प्रभावकारिता नेतृत्वको कार्यशैलीमा निर्भर रहनेछ।