देशभर ४५५२ कैदी बन्दी फरार — गृहमन्त्री अर्याल द्वारा सुरक्षा अवस्थाबारे कडा सन्देश

ecopolinews.com

काठमाडौँ । देशभर ४ हजार ५ सय ५२ जना कैदी बन्दी फरार रहेको तथ्य सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा चुनौती सामना गर्न सरकारले आक्रामक कदम चालिरहेको बताएका छन्।

धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले फरारमध्ये कर्तव्य ज्यान तथा अन्य जघन्य अपराधका कागजात न्यून रहेको स्पष्ट पार्दै, “फरार कैदी र केही हातहतियार बाहिरै छन् भनेर निर्वाचन अविश्वसनीय हुन्छ भन्ने भ्रम नबढाऔँ” भन्ने आग्रह गरे।

सरकारले अहिलेसम्म ७२७ वटा हातहतियार फिर्ता ल्याइसकेको मन्त्री अर्यालको भनाइ छ। उनका अनुसार भयरहित, स्वच्छ र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्नु नै शीर्ष प्राथमिकता बनेको छ।

भदौ २३ र २४ का घटनापछि जेन जेड युवाले उठाएको आक्रोश र मागलाई पनि उनले उल्लेख गर्दै, सरकार तथा गृह प्रशासन शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाउन “पूर्ण निष्ठाका साथ कार्यरत छ” बताएका छन्।

गोष्ठीमा प्रदेशभरका सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए।

प्रतिक्रिया