एनआरएनए नेतृत्वमा कडा प्रतिस्पर्धा: अध्यक्षमा तीन दाबेदार, २० जना निर्विरोध निर्वाचित

ecopolinews.com

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनअघि संगठनभित्र चुनावी माहोल तीव्र बनेको छ। आगामी आइतबार हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न ६९ पदमा मनोनयन दर्ता भएको छ भने क्षेत्रीय पदाधिकारीसहित २० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्ष पदका लागि तीन प्रभावशाली उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्- डा. हेमराज शर्मा (यूके), रविन बज्राचार्य (अमेरिका) र रविन शेरचन (जापान)। तीनै उम्मेदवारले संगठनको एकता, संस्थागत सुधार र विश्वभर रहेका नेपालीको हितलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। यद्यपि आन्तरिक समीकरणमा डा. हेमराज शर्मा पक्षधर उम्मेदवारहरूको संख्या बढी देखिएकाले उनको पक्ष बलियो मानिएको छ।

छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा टिका गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। महासचिव पदमा डा. चिरञ्जीवी खड्का र रामशरण सिम्खडा बीच सीधा प्रतिस्पर्धा हुने भएको छ।

दुई उपमहासचिव पदका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् भने छ सचिव पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। महिला सचिवमा कञ्चन थापा निर्विरोध निर्वाचित भएकी छन्।

कोषाध्यक्ष पदमा कृष्णप्रसाद तिमल्सिना र तिलकप्रसाद गैरे बीच प्रतिस्पर्धा हुने भएको छ। तीन सह-कोषाध्यक्ष पदमध्ये दुई पदमा मात्र उम्मेदवारी परेको छ भने महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा निर्विरोध भएकी छन्।

महिला संयोजक पदका लागि परसुना कँडेल र रस्मी थापा चुनावी प्रतिस्पर्धामा छन् भने युवा संयोजक पदमा नवीन निउरे र दीपेश खत्री आमनेसामने भएका छन्।

क्षेत्रीय संयोजकतर्फ अफ्रिकाबाट मनोज विक, अमेरिकाबाट भुवन खरेल, ओसियानाबाट रमेश जोशी, युरोपबाट रबोट लिम्बु तथा दोस्रो पुस्ता संयोजकतर्फ दीपमाला ढकाल निर्विरोध निर्वाचित भएका छन्। एसिया क्षेत्रको एक संयोजक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने मध्यपूर्व संयोजक पदमा दुई जनाबीच प्रतिस्पर्धा हुनेछ।

एनआरएनएको यो निर्वाचनलाई संगठनको आगामी दिशा तय गर्ने निर्णायक अवसरका रूपमा हेरिएको छ , किनकि विगतका विभाजनपछि संगठनलाई स्थायित्व र एकतामा लैजान सक्ने नेतृत्व चयनमा सबैको ध्यान केन्द्रित भएको छ। 

प्रतिक्रिया