साँखुमा प्रहरी र लागुऔषध कारोबारीबीच मुठभेड: आत्मरक्षामा प्रहरीले गोली चलाउँदा एक घाइते

ecopolinews.com

काठमाडौं । उत्तरी काठमाडौंको साँखुमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र अपराधीबीच दोहोरो गोली हानाहान भएको छ। लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले शंकास्पद कारोबारीलाई पिछा गर्दै जाँदा उनीहरूले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपछि स्थिति मुठभेडमा परिणत भएको हो। प्रहरी प्रभाग साँखुका अनुसार आफ्नो टोली सुरक्षाका लागि खटिएको भए तापनि मुख्य अप्रेसन ब्युरोले चलाएको थियो। अपराधीले अचानक आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर खोलेको थियो।

प्रहरीको जवाफी कारबाहीमा परी एक लागुऔषध कारोबारी घाइते भएका छन्। गोली लागेर घाइते भएका ती व्यक्तिलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्‍याएको छ। खानतलासीका क्रममा घाइतेको साथबाट एक थान पेस्तोल र भारी मात्रामा लागुऔषध समेत बरामद भएको प्रहरीले पुष्टि गरेको छ।

दिउँसै गोली चलेपछि साँखु क्षेत्रका स्थानीय बासिन्दा केही समय त्रसित बनेका थिए। हाल उक्त क्षेत्रमा थप प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले कारोबारीको समूहमा अन्य व्यक्तिहरू पनि संलग्न हुनसक्ने आशंकामा खोजतलास जारी राखेको छ।

प्रतिक्रिया