मुलुकको विकास नीति र योजना तर्जुमा गर्ने सर्वोच्च निकाय राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रखर अर्थविद् डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका डा. भट्टलाई यो गरिमामय जिम्मेवारी दिने निर्णय गरेको हो। मौद्रिक र आर्थिक नीतिमा दख्खल राख्ने डा. भट्टको नियुक्तिले बालेन सरकारको 'मिसन डेलिभरी' र आगामी आर्थिक वर्षको 'रुपान्तरणकारी बजेट' लाई थप सन्तुलित र परिणाममुखी बनाउने विश्वास गरिएको छ।
लामो समय राष्ट्र बैंकमा रहेर अर्थतन्त्रको आन्तरिक संरचना बुझेका डा. भट्टको नेतृत्वमा अब आयोगले मुलुकको १६औँ पञ्चवर्षीय योजना र दीर्घकालीन भौतिक तथा पूर्वाधार विकासको ठोस मार्गचित्र तयार पार्ने अपेक्षा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले डा. भट्टको विज्ञताले देशको आर्थिक सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छिन्।