जेन जी आन्दोलनका नायक सुदन गुरुङ : भ्रष्टाचारविरुद्धको आँधी र नयाँ नेपालको उद्घोष

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाडौं- नेपालको राजनीतिक इतिहास संघर्ष र बलिदानले भरिएको छ। प्रजातन्त्रको नाममा आन्दोलन भयो, गणतन्त्रको नाममा आन्दोलन भयो, संविधानका लागि आन्दोलन भयो। तर ती सबै आन्दोलनको प्रतिफल जनताले कहिल्यै आफ्नै जीवनमा वास्तविक रुपमा भोग्न पाएनन्। जनतालाई आन्दोलनको क्रममा रगत बगाउन, बलिदान दिन बाध्य बनाइयो, तर त्यसपछि सत्तामा पुगेकाहरूले आफ्ना स्वार्थका लागि देश बेच्न, विदेशीको चाकरी गर्न र भ्रष्टाचारलाई संस्कृतिका रूपमा पाल्न छाडेनन्। दशकौँदेखि देश यही दुश्चक्रमा कैद थियो।

तर अब यो दुश्चक्रलाई तोड्ने एक ऐतिहासिक विद्रोह सुरु भएको छ—जेन जी आन्दोलन। यो आन्दोलन केवल केही नाराजुलुस होइन, यो नयाँ पुस्ताको विद्रोह हो, यो जनताको आक्रोशको विस्फोट हो, यो राष्ट्रलाई विदेशीको गुलामी र दलाल पुँजीवादको चंगुलबाट मुक्त गर्ने ऐतिहासिक प्रयास हो।

यस आन्दोलनको नेतृत्व गर्दै अगाडि बढेका छन् सुदन गुरुङ, जो अहिले सम्पूर्ण नेपालका युवापुस्ताका लागि आशाको प्रतीक बनेका छन्। उहाँले आफ्ना प्रत्येक शब्दले जनतालाई जागृत गराएका छन्, उहाँले आफ्ना हरेक कदमले पुरानो सत्ताको ढाँचा हल्लाइदिएका छन्। गुरुङ खुलेर भन्नुहुन्छ—“म देश र जनताको लागि मेरो ज्यान नै जानु परे पनि खुसीसाथ दिनेछु, तर नेपाल सुशासन र भ्रष्टाचारमुक्त बन्नै पर्छ।” यो शब्द केवल व्यक्तिगत अभिव्यक्ति मात्र होइन, यो नयाँ पुस्ताले गरेको ऐतिहासिक उद्घोष हो।

जेन जी आन्दोलन किन जन्मियो? यसको कारण स्पष्ट छ। दशकौँदेखि नेपाललाई दलाल पुँजीवादले घेर्यो। ठेक्कापट्टा र कमिसनको खेलमा मन्त्रालयहरू बिके, संसद नीतिनिर्माणको केन्द्र होइन, व्यक्तिगत स्वार्थको दलदल बन्यो। न्यायालयबाट न्याय होइन, पैसाको मूल्यमा फैसला बिक्री हुने प्रथा सुरु भयो। युवा रोजगारी नपाएर परदेशिन बाध्य भए, किसान उत्पादन गरेर पनि घाटामा परे, आम नागरिक स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाबाट वञ्चित भए। यी सबै पीडाको प्रतिफल थियो—जनताको धैर्यको अन्त्य।

जेन जी आन्दोलनले यही दु:ख, यही अन्याय र यही बेइमान प्रणालीलाई चिरफार गरेको छ। यो आन्दोलनमा हजारौँ युवाहरू सडकमा ओर्लिए, नारा मात्र दिएनन्, आफ्नो जीवनसमेत बलिदान दिन तयार भए। धेरै सहिद भए, सयौँ घाइते भए, हजारौँको भविष्य आन्दोलनकै भुइँचालोमा बग्यो। तर यी बलिदानले एउटा कुरा स्पष्ट पारे—अब नेपालमा पुरानो शैलीको राजनीति चल्दैन। अब भ्रष्टाचार गर्ने, देश बेच्ने, विदेशीको चाकरी गर्ने नेताहरू सुरक्षित छैनन्।

यस आन्दोलनले देशको राजनीतिक वृत्तलाई हल्लाइदिएको छ। अन्ततः यसकै दबाबमा अन्तरिम सरकार बनेको छ। तर यो सरकार सामान्य होइन, ऐतिहासिक जिम्मेवारी बोकेको सरकार हो। यसले अब दुई मध्ये एक बाटो रोज्नुपर्छ—या त भ्रष्टाचारको जरा उखेल्दै जनताको विश्वास जित्ने, या त फेरि असफल हुँदै अर्को ठूलो विद्रोहलाई आमन्त्रण गर्ने। जनताले यस सरकारसँग अपेक्षा गरेका छन्—यो सरकारले दलाल पुँजीवादलाई अन्त्य गर्छ, भ्रष्टाचारको साम्राज्य भत्काउँछ र विदेशी चाकरीमा रमाउने पुरानो राजनीतिक सोचलाई सधैंका लागि अन्त्य गर्छ।

सुदन गुरुङ अहिले केवल एउटा व्यक्तिको नाम मात्र होइन, उहाँ एउटा आन्दोलनको आत्मा हुनुहुन्छ। उहाँ युवा पुस्ताको विद्रोही चेतनाको प्रतिबिम्ब हुनुहुन्छ। उहाँले जनतालाई विश्वास दिलाउनुभएको छ कि देश बदल्न सम्भव छ, न्याय सम्भव छ, सुशासन सम्भव छ। यो विश्वासले आज नेपाली समाजमा नयाँ ऊर्जा भरिएको छ।

जेन जी आन्दोलनले स्पष्ट गरिसकेको छ—यो केवल तत्कालीन सरकारविरुद्धको आक्रोश होइन, यो सम्पूर्ण पुरानो राजनीतिक संरचनाविरुद्धको युद्ध हो। यो आन्दोलनले भनेको छ—जनताको अधिकार कुनै नेताले आफ्नो निजी सम्पत्तिको रूपमा प्रयोग गर्न पाउँदैन, देश विदेशीको गुलामीमा बाँधिन सक्दैन, भ्रष्टाचार र अन्यायलाई अब सहन सकिँदैन।

आज नेपाली जनताको मनमा एउटा मात्र आकांक्षा छ—नेपाल भ्रष्टाचारमुक्त बनोस्, जनताले शान्ति, न्याय र अधिकार उपभोग गरोस्, र देश आफ्नै बलमा आत्मनिर्भर र समृद्ध बनोस्। यही आकांक्षाको प्रतीक बनेका छन् सुदन गुरुङ र उहाँको नेतृत्वमा अघि बढेको जेन जी आन्दोलन।

यो आन्दोलनले दिएको अन्तिम सन्देश अत्यन्त स्पष्ट छ—देश बचाउन हामी सबै नेपाली एक हुनै पर्छ। अबको विकल्प मात्र एउटै छ—भ्रष्टाचारविरुद्ध अन्तिम युद्ध।

प्रतिक्रिया