काठमाडौँ । काठमाडौँका सुकुमबासी बस्तीहरूमा डोजर चल्ने र स्थानान्तरण गर्ने क्रम जारी रहँदा धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस विषयमा कडा हस्तक्षेप गरेका छन्। सरकारले सुकुमबासी हटाउने अभियान तीव्र पारिरहेका बेला साम्पाङले त्यसको प्रतिकार गर्न देशभरका सुकुमबासीलाई संगठित हुने निर्देशन दिएका हुन्।
आफ्नो पार्टीपंक्तिलाई स्पष्ट निर्देशन दिँदै साम्पाङले अब 'सुकुमबासी र अव्यवस्थित बसोवासी एकता अभियान'को नेतृत्व श्रम संस्कृति पार्टीले गर्ने घोषणा गरेका छन्।
साम्पाङको गर्जन: "यो देश गरिबको पनि हो" सामाजिक सञ्जाल र पार्टी संयन्त्रमार्फत साम्पाङले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाउँदै आफ्ना कार्यकर्ता र सुकुमबासीलाई सजग रहन अपिल गरेका छन्। उनले भनेका छन्:
"सुकुमबासी तथा अव्यवस्थित बसोबासी हो होसियार रहनु है! संगठित भई बस्नु! सरकारको चाला ठिक छैन! श्रम संस्कृति अभियन्ता हो निर्धा, दुब्ला र गरिबहरूको पक्षमा उभिनु!"
देशव्यापी अभियानको तयारी साम्पाङले केवल काठमाडौँ मात्र नभई देशभरका जिल्ला र पालिका समितिहरूलाई सुकुमबासीहरूलाई गोलबन्द गर्न निर्देशन दिएका छन्। उनले 'अव्यवस्थित बसोबासी'को मुद्दालाई अब राजनीतिक शक्तिको रूपमा अगाडि बढाउने संकेत गरेका छन्।
नयाँ ध्रुवीकरणको संकेत एकतिर काठमाडौँ महानगर र केन्द्र सरकार सुकुमबासी व्यवस्थापनमा लागिरहेका छन् भने अर्कोतिर हर्क साम्पाङले यसलाई 'गरिबमाथिको प्रहार' भन्दै नयाँ मोर्चाबन्दी सुरु गरेका छन्। साम्पाङको यो आह्वानले सुकुमबासी बस्तीहरूमा सरकारविरुद्धको मनोविज्ञानलाई झनै बलियो बनाउने देखिएको छ।
के हर्क साम्पाङको यो 'इन्ट्री'ले सरकारको सुकुमबासी व्यवस्थापन योजनामा ठेस पुर्याउला? वा यो केवल नयाँ राजनीतिक समीकरणको सुरुवात मात्र हो? सिंहदरबारको निर्णय र साम्पाङको 'संगठित अभियान' बीच अब सिधा टकराव पर्ने निश्चित देखिएको छ।