निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर छैन, अस्थिरता बढाउने गतिविधि देखियो : देवप्रसाद गुरुङ

ecopolinews.com

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका नेता देव प्रसाद गुरुङले अन्तरिम सरकारले निर्वाचनलाई आफ्नो एकमात्र म्यान्डेटका रूपमा नलिएर गैरजिम्मेवार गतिविधिमा संलग्न हुँदा मुलुकमा अस्थिरता र द्वन्दको खतरा बढ्दै गएको आरोप लगाएका छन्। फागुन २१ गते तोकिएको निर्वाचन नजिकिँदै गर्दा पनि सरकार शान्ति–सुरक्षा र निर्वाचनको वातावरण निर्माणमा गम्भीर नदेखिएको उनले स्पष्ट पारे।

एक अन्तर्वार्तामा नेता गुरुङले अन्तिम सरकारको प्रमुख दायित्व नै निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउनु भएको स्मरण गराउँदै भने, “अन्तरिम सरकारको आँखा निर्वाचन बाहेक अरु कुनै एजेन्डामा हुनु हुँदैन। तर अहिलेको सरकार निर्वाचनभन्दा बाहिरका गतिविधिमा अल्झिएको देखिन्छ।”

उनले अन्तरिम सरकारले अधिकार क्षेत्रभन्दा बाहिर गएर पटक–पटक अध्यादेश जारी गर्नु, निर्वाचनसम्बन्धी कानुन परिवर्तन गर्ने प्रयास गर्नु नै निर्वाचन बिथोल्ने नियोजित रणनीति भएको दाबी गरे। “अन्तरिम सरकारलाई अध्यादेश जारी गर्ने अधिकार छैन, तर त्यसको दुरुपयोग भइरहेको छ,” उनले भने।

कूटनीतिक निर्णय र गिरफ्तारीले झन् अस्थिरता बढायो

गुरुङले राजदूत फिर्ता बोलाउने, कूटनीतिक रिक्तता सिर्जना गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर बनाउने निर्णयहरू कानुनविपरीत र दीर्घकालीन रूपमा राष्ट्रघाती हुने चेतावनी दिए। यस्ता निर्णयहरूले निर्वाचनप्रतिको प्रतिबद्धताभन्दा पनि मुलुकलाई द्वन्द र अस्थिरतामा धकेल्ने संकेत गरेको उनको भनाइ छ।

राजनीतिक प्रतिशोधका रूपमा नेताहरूलाई मुद्दा लगाउने, गिरफ्तारी गर्ने र जेल चलान गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले आफ्ना पार्टीका नेता कृष्णबहादुर महराविरुद्ध लगाइएका आरोपहरूलाई गलत र षड्यन्त्रमूलक भएको बताए। “यस्ता गतिविधिले दलहरूबीचको विश्वास भत्काउँदै शान्तिपूर्ण निर्वाचनको वातावरण नष्ट गर्छ,” उनले भने।

संवाद र सहमति बिना निर्वाचन सम्भव छैन

नेता गुरुङले लामो समयदेखि दलहरूबीच संवादहिनता पैदा भएकोप्रति चिन्ता व्यक्त गर्दै निर्वाचन हुने–नहुने भन्ने प्रश्न सरकारकै भूमिकामा अन्तर्निहित रहेको बताए। “सरकारले संवाद, सहजीकरण र वार्ताको वातावरण बनाउनुको सट्टा द्वन्द बढाउने काम गरिरहेको छ,” उनले भने।

उनका अनुसार निर्वाचन सफल बनाउन शान्ति–सुरक्षाको वातावरण निर्माण, दलहरूबीच संवाद र राष्ट्रिय सहमति अपरिहार्य छ। “निर्वाचन मात्रै सबै कुरा होइन, राष्ट्रिय सहमति यसको आधार हो,” उनले जोड दिए।

नेपाललाई ‘दोस्रो युक्रेन’ हुनबाट बचाउन चेतावनी

विश्व एकाधिकार पुँजीवादको चपेटामा परिरहेको सन्दर्भमा नेपाललाई बाह्य शक्तिको खेलमैदान बन्न नदिन सबै राजनीतिक शक्ति राष्ट्रिय स्वाधीनताको मुद्दामा एक ठाउँमा उभिनुपर्ने गुरुङको धारणा छ। “नेपाललाई दोस्रो युक्रेन हुनबाट बचाउनुपर्छ,” उनले चेतावनी दिए।

उनले सस्तो लोकप्रियता, पैसाको बल र विचारविहीन राजनीतिले देशलाई अस्थिरता र विध्वंसतर्फ लैजाने भन्दै यस्ता प्रवृत्तिबाट सजग रहन आग्रह गरे। “विचार, सिद्धान्त र राष्ट्रिय आन्दोलनमा योगदान बिना राजनीति हावी भयो भने देश बर्बाद हुन्छ,” उनले भने।

राष्ट्रिय सहमतिको विकल्प छैन

बहुदलीय लोकतन्त्रमा विचार, सिद्धान्त र राष्ट्रियतामा आधारित प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै गुरुङले पद र प्रतिष्ठाका लागि पैसा हावी हुने अवस्था रोक्नुपर्ने बताए। “देशमा शान्ति, स्थायित्व र अस्तित्व जोगाउन राष्ट्रिय सहमतिको विकल्प छैन,” उनको निष्कर्ष छ।

अन्तरिम सरकारले शान्तिपूर्ण वातावरण सिर्जना गरी निष्पक्ष निर्वाचन सम्पन्न गरेमा आफ्नो पार्टी सकारात्मक रूपमा सहभागी हुने पनि उनले स्पष्ट पारे।

प्रतिक्रिया