एनआरएनएले बिनय शाहलाई नागरिकता तथा मतदान अधिकार निरन्तरता समितिको सदस्य नियुक्त

ecopolinews.com

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) ले हङकङमा बसोबास गर्दै आएका बिनय शाहलाई नागरिकता तथा मतदान अधिकार निरन्तरता समितिको सदस्य पदमा औपचारिक रूपमा नियुक्त गरेको छ। २०२५–२०२७ कार्यकालका लागि गरिएको यो नियुक्ति एनआरएनएले हरेक देशमा रहेका नेपाली समुदायका मुद्दाहरू प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय तहमा अघि बढाउन लक्ष्यसहित गरेको हो।

३ अगस्ट २०२५ मा बसेको ICC बैठकको निर्णयअनुसार जारी नियुक्तिपत्रमा शाहको सक्रियता, नेतृत्व क्षमता र विदेशीभूमिमा बसेर पनि नेपाली समुदायका हकहितका लागि गरेको निरन्तर योगदानको उच्च प्रशंसा गरिएको छ। नियुक्तिपत्रमा समितिका प्रमुख तथा विभागीय प्रमुख बुद्धि सगर सुवेदीसँग प्रत्यक्ष समन्वयमा रहेर कार्य सम्पादन गर्न शाहलाई जिम्मेवारी दिइएको उल्लेख छ।

एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामा द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,

“शाहको पेशागत इमानदारी, अनुभव तथा दूरदृष्टिले ‘For Nepali, by Nepali – for a Prosperous Nepal’ को साझा दृष्टिकोणलाई अझ प्रभावकारी रूपले अगाडि बढाउने विश्वास लिइएको छ।”

शाहको नियुक्तिसँगै विदेशमा रहेका नेपालीहरूले उठाउँदै आएका नागरिकता, मतदान अधिकार र सरकारी सम्बन्ध विस्तार जस्ता संवेदनशील तथा दीर्घकालीन विषयमा एनआरएनए नेतृत्वले थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।

नेपालका लागि गौरव र प्रवासमा रहेका लाखौँ नेपालीका मुद्दा उठाउँदै आएका बिनय शाहको यो जिम्मेवारीले हङकङसहित विश्वभरको प्रवासी नेपाली समुदायमा उत्साह थपिएको छ।

प्रतिक्रिया