नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण चलिरहेका बेला खेलमा अनधिकृत प्रभाव जमाउन खोजिएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा ल्याएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार WhatsApp र Instagram प्रयोग गरेर एनपीएलमा रहेका खेलाडीहरूसँग सम्पर्क गरी आर्थिक प्रस्ताव राख्दै खेलको नतिजामाथि दबाब सिर्जना गर्न खोजिएको पाइएको हो।
यस आरोपमा भारतका हरियाणा राज्यको रानीमहल, पानीपतका दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–मगरगडीकी रेविका सिंह ठकुरी पक्राउ परेका छन्। हाल रेविका भारतको चण्डीगढमा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार उनीहरूले खेलाडीलाई ‘प्रायोजन’ (sponsorship) को नाममा नजिकिन खोजेर पैसा दिने प्रलोभन देखाइ खेलमा प्रभाव पार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ। मंसिर २७ गतेसम्म जारी रहने एनपीएलका खेलाडी लक्षित गरेर यस्तो गतिविधि गरिएको बताइएको छ।
हाल दुवै जनामाथि गहिरो अनुसन्धान अघि बढाइएकाले सम्भावित नेटवर्क र अन्य संलग्नताबारे थप खुलासा हुने प्रहरीको भनाइ छ।