काठमाडौं । सरकार स्वयंले घोषणा गरेको मितव्ययिताको नीतिलाई प्रश्नचिन्ह लगाउँदै बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ अंग्रेजी नयाँ वर्षको अवसरमा सिराहामा आयोजित वनभोजमा हेलिकोप्टर चढेर पुगेका छन्। कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले आयोजना गरेको उक्त वनभोज धनगढीमाई नगरपालिका–१४, सर्रे अम्बासमा भएको थियो।
दिउँसो करिब ३ बजे हेलिकोप्टरमार्फत वनभोजस्थल पुगेका मुख्यमन्त्री बानियाँको आगमनले कार्यक्रमस्थल मात्र होइन, वरपरको गाउँ नै उत्सुकताले भरियो। स्थानीय अर्जुन थपलियाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोले घटनालाई अझै चर्चामा ल्याएको छ।
थपलियाका अनुसार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव पनि पिकनिकमा सहभागी भएका थिए। उनी भने आफ्नै कारगेटसहित पुगेका थिए। मुख्यमन्त्रीहरू आउने खबर फैलिएसँगै करिब दुई दर्जन सुरक्षाकर्मी कार्यक्रमस्थलमा खटाइएका थिए।
हेलिकोप्टर अवतरणसँगै स्थानीयवासीहरू रमाउँदै नजिकैबाट हेर्न तँछाडमछाडमा उत्रिए। “यहाँका जनताले यति नजिकबाट हेलिकोप्टर देख्न पाएका थिएनन्, यही नै एउटा उपलब्धि भयो,” थपलियाले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
तर, सबैभन्दा ठूलो प्रश्न भने अझै अनुत्तरित छ—निजी वनभोजका लागि प्रयोग गरिएको हेलिकोप्टरको खर्च कसले व्यहोरेको हो? सार्वजनिक स्रोत प्रयोग भयो कि निजी व्यवस्थापन? मितव्ययिताको नीति घोषणामै सीमित त छैन? यी प्रश्नले मुख्यमन्त्रीको ‘न्यू इयर पिकनिक’लाई रमाइलोभन्दा बढी राजनीतिक बहसको केन्द्रमा पुर्याएको छ।