२२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सानोठिमीस्थित शिक्षा निकायहरूको निरीक्षण गरेका छन्। मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालय सानोठिमी क्षेत्रमा रहेका कारण मन्त्री पुन बुधबार स्थलगत अवलोकनका लागि पुगेका हुन्।
निरीक्षणका क्रममा मन्त्री पुन शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेका थिए, जहाँ केन्द्रका अधिकारी र कर्मचारीहरूले शिक्षा क्षेत्रका विद्यमान समस्या, प्रशासनिक चुनौती र सुधारका सम्भावनाबारे विस्तृत जानकारी गराएका थिए।
मन्त्री पुनले शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री प्रणालीको विकास र स्रोत परिचालनमा पारदर्शिता आवश्यक रहेको बताएका छन्। उनले शिक्षा क्षेत्रमा दीगो सुधार ल्याउन नीतिगत तथा संरचनात्मक परिवर्तनमा सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
यसअघि मन्त्री पुन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) पुगेका थिए, जहाँ उनले अनुसन्धान र नवप्रवर्तनका कार्यप्रगति बारे जानकारी लिएका थिए।
मन्त्री पुनको यो निरन्तर निरीक्षण अभियानलाई शिक्षा क्षेत्र सुधारतर्फको सक्रिय पहलका रूपमा लिइएको छ।
२२ असोज २०८२, बुधबार ०४:४१ मा प्रकाशित