काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एकैदिन ३३ जना केन्द्रीय सदस्य थपिएसँगै पार्टीभित्र गहिरो असन्तोष सतहमा आएको छ । विशेषगरी वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को कोटाबाट मनोनयन गरिएका २६ जनाको सूची सार्वजनिक भएपछि पार्टी पंक्ति तरंगित बनेको छ । “नयाँ राजनीति” को दाबी गर्दै आएको रास्वपामा योग्यता, राजनीतिक हैसियत र नैतिक मापदण्डबारे गम्भीर प्रश्न उठ्न थालेका छन् ।
हिजो बसेको केन्द्रीय कमिटी बैठकले सुरुमा विवेकशील साझाबाट आएका ७ जना र त्यसपछि बालेनको कोटाबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो । विवेकशील पृष्ठभूमिबाट आएका केही अनुहार—समीक्षा बास्कोटा र रञ्जु दर्शना—लाई भने पार्टीभित्र तुलनात्मक रूपमा स्वीकार्य मानिएको छ । तर बालेनतर्फबाट आएका नामहरूले भने नेताहरूलाई नै अचम्ममा पारेको छ ।
पार्टीका नेताहरूका अनुसार २६ जनामध्ये बलियो राजनीतिक प्रोफाइल, सार्वजनिक पहिचान वा वैचारिक योगदान भएका व्यक्तिहरू देखिँदैनन् । धेरै नाम त पार्टीकै केन्द्रीय नेताहरूलाई समेत अपरिचित छन् । बालेनसँग व्यक्तिगत निकटता, सँगै उठबस र खानपिन गर्ने सम्बन्धकै आधारमा केन्द्रीय समिति पुर्याइएको आरोप खुलेरै लाग्न थालेको छ ।
केन्द्रीय समितिमा रहेकी एक नेतृ असन्तोष पोख्दै भन्छिन्,
“नाम सुन्नेबित्तिकै उदेक लाग्यो । अधिकांश त वडा सदस्यसमेत जित्न नसक्ने हैसियतका छन् । बालेनसँग यत्ति पनि विकल्प रहेनछन् भन्ने देखियो ।”
अर्का एक नेताले अझ कडा टिप्पणी गरे,
“उहाँले रास्वपामा अब्बल, बौद्धिक र प्रभावशाली मान्छेहरू ल्याउनुहुन्छ भन्ने अपेक्षा थियो । तर सूची हेर्दा बुझियो—बालेन नामकै ‘हाउगुजी’ रहेछ । राजनीतिक सर्कल नै नबनेको रहेछ ।”
बालेनको सूचीले पार्टी नेतृत्वको निर्णय क्षमतामाथि पनि प्रश्न उठाएको छ । “पार्टी ठूलो बनाउने नाममा जस्तासुकै मान्छेहरू केन्द्रीय समितिमा लैजानु हुँदैनथ्यो,” एक नेताको गुनासो छ, “कम्तीमा योग्यता, पृष्ठभूमि र विश्वसनीयता जाँच्नुपर्थ्यो ।”
सूची हेर्दा बालेनसँग ‘मान्छे अभाव’ रहेको आरोपलाई थप बल पुगेको छ । २६ जनामध्ये चारजना त बालेनकै सचिवालयमा काम गरिरहेका व्यक्ति छन् । मेयरका भौतिक पूर्वाधार सल्लाहकार सुनील लम्साल, प्रमुख स्वकीय सचिव भूपदेव, एसोसिएट एक्सपर्ट सस्मित पोखरेल र सचिवालयमा काम गरिसकेका सन्तोष गिरी केन्द्रीय सदस्य बनेका छन् । राजनीतिक पृष्ठभूमि नहुँदा नहुँदै सुनीललाई पार्टी महामन्त्री बनाउने चर्चा चल्नुले असन्तोष झन् बढाएको छ ।
केही नाममा सीमित राजनीतिक अनुभव भए पनि अधिकांश व्यक्तिगत निकटता, क्याफे–सर्कल, साहित्यिक मित्रता वा जेन–जी आन्दोलनको छायामा आएका देखिन्छन् । जेन–जी समूहका प्रदेश संयोजकदेखि कलाकार र क्याफे सञ्चालकसम्म केन्द्रीय समितिमा अटाइएका छन् । सागर ढकाललाई त “हाइप्रोफाइल” भन्नुपर्ने बाध्यता नै आएको टिप्पणी पार्टीभित्र सुनिन्छ ।
सबैभन्दा गम्भीर प्रश्न भने विवादास्पद पात्रहरूको प्रवेशले उठाएको छ । टिकापुर घटनामा दोषी ठहर भइसकेका लक्ष्मण थारु र विभिन्न मुद्दा विचाराधीन खगेन्द्र सुनारजस्ता व्यक्तिहरू केन्द्रीय समितिमा पुगेपछि रास्वपाको नैतिक धरातलमाथि नै प्रश्न उठेको छ । “नयाँ राजनीति” को नारा र व्यवहारबीचको दूरी यत्तिकै स्पष्ट देखिएको नेताहरू बताउँछन् ।
समग्रमा, बालेनको कोटाबाट आएको सूचीले रास्वपाभित्र नेतृत्व, निर्णय प्रक्रिया र राजनीतिक दृष्टिकोणबारे गम्भीर बहस जन्माएको छ । पार्टीभित्रै प्रश्न उठ्न थालेको छ—यो विस्तार संगठन बलियो बनाउन हो, कि व्यक्तिगत सर्कल सुरक्षित गर्न ?
र सबैभन्दा ठूलो जिज्ञासा यही छ : बालेनको राजनीतिक प्रभाव साँच्चै बलियो हो, कि नामकै ‘हाउगुजी’ ?