‘अभिमन्यु : च्याप्टर १’ अब असोज २४ देखि सोलो रिलिज, नेपाली र हिन्दी दुवै भाषामा विश्वव्यापी प्रदर्शन

ecopolinews.com


काठमाडौं, असोज 18 – दशैंको फूलपातीमा रिलिज हुने भनिएको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ अब असोज २४ देखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले आइतबार जारी गरेको विज्ञप्तिमा रिलिज मिति पछि सारिएको जानकारी दिएको हो।

निर्माण पक्षका अनुसार, असोज १३ मा चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउँदा शो संख्या सीमित हुने र दर्शकमा विभाजन हुने सम्भावना रहेकाले प्रदर्शक र वितरकहरूको अनुरोधलाई ध्यानमा राख्दै नयाँ मिति तोकिएको हो।


विज्ञप्तिमा भनिएको छ, “भदौ २७ गते प्रदर्शनका लागि तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ देशभर चलेको Gen-Z आन्दोलनका कारण स्थगित गर्नुपरेको थियो। तर असोज १३ मा धेरै चलचित्र रिलिज हुने भएकाले पर्याप्त शो सुनिश्चित गर्न कठिन हुने देखियो। साथै यसले अन्य नेपाली चलचित्रमा पनि असर पार्ने भएकाले हामीले असोज २४ लाई अन्तिम प्रदर्शन मिति तय गरेका छौँ।”

निर्माण पक्षले स्पष्ट पारेका छन् कि चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ। यस पटक फिल्मले सोलो रिलिज पाएको छ, जसलाई निर्माण पक्षले ठूलो अवसरका रूपमा लिइरहेको छ।


‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन्। निर्देशक सुशान्त गौतमको फिल्ममा क्रिएटिभ निर्देशक मदन थापा, लेखक मुकेश खनाल, र निर्माता विनोद पौडेल तथा गुञ्जन गिरी रहेका छन्। सह–निर्माता हरि श्रेष्ठ र रमेश चौलागाईं, तथा कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन्।

सिनेमाटोग्राफीमा शरद महतो (DOP), मनोज श्रेष्ठ (VFX), जुनिम गहतराज (रंग संयोजन) र मदन घिमिरे (सम्पादन) रहेका छन्।

निर्माण पक्षले उल्लेख गरेको छ कि नेपाली संस्करणसँगै हिन्दीमा पनि विश्वभर एकसाथ रिलिज हुन लागेकाले यो नेपाली सिनेमाका लागि विशेष अवसर मानिएको छ।

प्रतिक्रिया