इरानमाथि अझ तीन साता आक्रमणको तयारीमा इजरायल, मध्यपूर्व फेरि विश्व संकटको केन्द्रमा किन ?

ecopolinews.com

रविन्द्र कट्टेल - तेल अभाव, युद्धको विस्तार र विश्व अर्थतन्त्रमा नयाँ संकटको संकेतबीच इजरायलले इरानविरुद्ध कम्तीमा थप तीन सातासम्म सैन्य कारबाही जारी राख्ने स्पष्ट संकेत दिएको छ। इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नदाभ शोशानीका अनुसार इरानभित्र हजारौँ लक्ष्य अझै बाँकी रहेका छन् र त्यसअनुसार विस्तृत सैन्य योजना तयार भइसकेको छ।

सोमबार राति इजरायलले तेहरान, शिराज र तब्रिजसहित इरानका विभिन्न क्षेत्रमा तीव्र हवाई आक्रमण गरेको जनाएको छ। इरानको सरकारी तथा अर्धसरकारी सञ्चारमाध्यमहरूका अनुसार मार्काजी प्रान्तमा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। अराक र महल्लत क्षेत्रमा आवासीय भवनहरू क्षतिग्रस्त भएका छन्।

तेहरानमा उद्धारकर्मीहरूले भग्नावशेषबाट मानिसहरू निकालिरहेका छन्। स्थानीय बासिन्दाहरूका अनुसार इन्टरनेट सेवा अवरुद्ध भएको छ र राजधानीमा त्रासको वातावरण फैलिएको छ। इरानी नागरिकहरूले नयाँ वर्ष ‘नौरोज’ नजिकिँदै गर्दा उत्सवको वातावरण नभई भय र अनिश्चितता बढेको बताएका छन्।

उता इरानले पनि जवाफी आक्रमण तीव्र बनाएको छ। इरानी रिभोलुसनरी गार्ड्सले तेल अभिभ, अबुधाबीस्थित अमेरिकी अल-धाफ्रा एयरबेस, बहरेनको नौसैनिक अड्डा तथा सैनिक संरचनालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

ड्रोन आक्रमणका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल केही घण्टा बन्द गर्नुपरेको थियो भने संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाहस्थित महत्वपूर्ण तेल संरचनामा क्षति पुगेपछि तेल ढुवानी प्रभावित भएको छ। यसले विश्व बजारमा कच्चा तेलको मूल्य फेरि १०० डलर माथि पुगेको छ।

हर्मुज जलडमरू बन्द हुँदा विश्वको करिब २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ। यही कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, बेलायत, जापान, फ्रान्स लगायत देशहरूलाई समुद्री मार्ग खुलाउन सहयोग गर्न सार्वजनिक दबाब दिएका छन्।

तर जर्मनी, जापान र बेलायतले प्रत्यक्ष सैन्य संलग्नतामा सतर्कता अपनाएका छन्। जर्मनीका रक्षा मन्त्रीले स्पष्ट रूपमा भनेका छन्- “यो हाम्रो युद्ध होइन।”

यसबीच इजरायलले लेबनान र गाजामा पनि आक्रमण जारी राखेको छ, जहाँ हिजबुल्लाह र हमासमाथि कारबाही तीव्र पारिएको बताइएको छ।

प्रतिक्रिया