नवनिर्वाचित सांसदको शपथ अब नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा, मुख्य सभा कक्ष अझै अपूर्ण

ecopolinews.com

काठमाडौं - प्रतिनिधि सभामा निर्वाचित नयाँ सांसदहरूको शपथ ग्रहण तथा प्रारम्भिक संसदीय बैठकहरू अब सिंहदरबारभित्र पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलबाट सञ्चालन गरिने भएको छ। मुख्य बैठक कक्ष समयमै पूर्ण रूपमा तयार नभएकाले सङ्घीय संसद् सचिवालयले वैकल्पिक व्यवस्थामा संसदीय प्रक्रिया अघि बढाउने तयारी तीव्र बनाएको हो।

सङ्घीय संसद् सचिवालयका सहसचिव एकराम गिरी का अनुसार शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हललाई अत्यावश्यक पूर्वाधारसहित तीन दिनभित्र प्रयोगयोग्य बनाइनेछ। उनका अनुसार उक्त हल मूलतः सचिवालय प्रयोजनका लागि निर्माण गरिएको भए पनि तत्कालीन आवश्यकता पूरा गर्न संसदीय प्रयोजनमा उपयोग गरिने निर्णय गरिएको हो।

उनले भने, “नयाँ संसद् भवनको मुख्य बैठक हल तत्काल सञ्चालनयोग्य अवस्थामा नपुगेकाले प्रारम्भिक चरणका कार्यक्रम बहुउद्देश्यीय हलबाट सञ्चालन गर्ने तयारी भइरहेको छ।”

यद्यपि सचिवालयले नयाँ भवनको नियमित संसद् बैठक बस्ने मुख्य हल कहिलेसम्म पूर्ण रूपमा तयार हुन्छ भन्नेबारे स्पष्ट समयसीमा दिन सकेको छैन। यसले नयाँ संसदीय कार्यतालिकाबारे अझै अनिश्चितता कायम राखेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथ ग्रहण तथा पहिलो बैठकको औपचारिक मिति भने अझै घोषणा गरिएको छैन। राजनीतिक दलहरूबीचको परामर्श, संसदीय तयारी तथा संरचनागत व्यवस्थापनपछि मात्र औपचारिक तालिका सार्वजनिक हुने सचिवालयको संकेत छ।

प्रतिक्रिया