काठमाडौं, १७ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले मधेश केन्द्रित शक्तिहरूबीच साझा गठबन्धन निर्माण गरी आगामी निर्वाचनमा होमिने स्पष्ट घोषणा गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको संवादमा उनले मधेशको अधिकार, पहिचान र राजनीतिक स्थायित्वका लागि साझा मोर्चा अपरिहार्य भएको बताए।
झाले वर्तमान विषम राजनीतिक परिस्थितिमा लोसपा र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणको निर्णय भइसकेको जानकारी दिँदै एकीकरण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताए। “अब को अध्यक्ष बन्छ, चुनाव चिन्ह के हुन्छ भन्ने विषय गौण भइसकेका छन्,” उनले भने, “मुख्य कुरा भनेको एकताबद्ध भएर जनताको पक्षमा अघि बढ्नु हो।”
उनले जेन–जी आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र विध्वंशप्रति कडा आपत्ति जनाउँदै दोषीहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए। वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले कारबाही प्रक्रिया रोक्ने प्रयास गरेर प्रहरीको मनोबल गिराएको आरोप लगाउँदै झाले स्पष्ट शब्दमा भने, “गृहमन्त्री सधैंका लागि पदमा रहने होइनन्, तर अपराधीले सजाय पाउनैपर्छ।”
दोषीहरूको पहिचान भइसकेको दाबी गर्दै उनले प्रहरीलाई निरुत्साहित गर्ने कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताए। “अपराधीलाई खोरभित्र हाल्नुपर्छ, यही नै कानुनी शासनको मर्म हो,” उनले जोड दिए।
झाले जेन–जी आन्दोलनको नाममा उद्योगी र व्यवसायीलाई अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख गर्दै राज्यले पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे। निर्दोष नागरिकका घरमा आगजनी भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष अपिल गरे—“दण्डहीनतालाई प्रश्रय दिनु हुँदैन। अपराधीलाई कारबाही र पीडितलाई न्याय दिनु राज्यको दायित्व हो।”
उनको भनाइले मधेशको आगामी राजनीति मात्र होइन, शान्ति–सुरक्षा र कानुनी शासनको विषयमा पनि बहसलाई थप चर्काएको छ।