विशेष महाधिवेशनबाट पद नखोजेको स्पष्ट पार्दै महामन्त्री गगन थापाले भने-प्रश्न गर्नु विद्रोह हो, मौनता मृत्यु जस्तै

ecopolinews.com

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई कुनै पद नचाहिएको स्पष्ट गर्दै पार्टीको आन्तरिक लोकतन्त्र र परिवर्तन नै आफ्नो प्राथमिकता भएको बताएका छन्।

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रको दोस्रो दिन बुधबार सम्बोधन गर्दै थापाले पदका लागि नभई महाधिवेशनलाई उपलब्धिपूर्वक टुंग्याउन आफू सक्रिय रहेको स्पष्ट पारे।

उनले पार्टीभित्र प्रश्न उठाउन पाउने अधिकार नै आन्तरिक लोकतन्त्रको आत्मा भएको उल्लेख गर्दै मौनतालाई खतरनाक प्रवृत्तिका रूपमा चित्रित गरे।

“प्रश्न गर्नु आफैँमा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो,” थापाले भने।

महामन्त्री थापाले पार्टीभित्र ‘गुठ’भन्दा बढी ‘गिरोह’ हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसलाई बदल्न अब ढिलाइ गर्न नहुने धारणा राखे। साथै, बाहिर फैलाइने हल्ला र आरोपहरूको पछि नलाग्न नेताकार्यकर्तालाई आग्रह गरे।

“अहिले बाहिर अनेक हल्ला चलाइएको छ—भागबण्डाका कुरा गरिएका छन्। म हल्लाको पछि लागेको छैन, तपाईँहरू पनि नलाग्नुस्,” उनले भने, “यो हलको म्याण्डेट सबैले मान्नुपर्छ। बाहिर हुने कुनै सहमति पनि यो हलले अपनत्व लिएपछि मात्रै अघि बढ्छ।”

थापाले विशेष महाधिवेशन पार्टीलाई नयाँ दिशा दिन सक्ने निर्णायक अवसर भएको उल्लेख गर्दै सबै नेताहरू एकताबद्ध भएर यसलाई परिणाममुखी ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया