भक्तपुर, ११ असोज । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका घटनामा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन्।
एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैं भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू सधैं देशमा रक्तपात नहोस् भन्ने पक्षमा रहेको र गोली कसको आदेशमा चल्यो भन्नेबारेमा आफूलाई समेत आश्चर्य लागेको बताए।
“गोली चल्यो भनेपछि मैले सोधेको थिएँ— किन गोली चलाउनुपर्ने अवस्था आयो? कहाँ गोली लाग्यो? टाउको र छातीमा लाग्यो रे! प्रहरीलाई त घुँडामुनि मात्र चलाउने आदेश हुन्छ, यसरी किन भयो? म अत्यन्तै दुःखित छु,” उनले भावुक हुँदै भने।
ओलीले भोलिपल्ट पनि अप्रिय घटना नहोस् भनेर प्रयास गरेको तर घटनाक्रम नियन्त्रण बाहिर गएको उल्लेख गरे। जेनजी आन्दोलनको मागलाई आफूले गम्भीरतापूर्वक लिएको तर देश त्यसतर्फ नगएको उल्लेख गर्दै उनले आयोगको प्रतिवेदनले सत्य–असत्य छुट्याउने बताए।
“प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ, न थाहा पाउँछ। आज विभिन्न भिडिओहरू आएका छन्, कति वास्तविक छन्, कति एआईले बनाइएका हुन्— त्यो आयोगले छुट्याउने छ। त्यसैले म सबैलाई स्पष्ट भन्न चाहन्छु, मेरो आदेशमा गोली चलेको होइन,” ओलीले जोड दिए।