८० मेसिन, हजारौँ मतदाता र सीमित समय - एमाले महाधिवेशनको मतदान कसरी हुँदैछ?

ecopolinews.com

काठमाडौं — नेकपा एमालेको जारी ११औँ महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। प्रतिनिधिहरू मतदानका लागि भृकुटीमण्डपमा भेला हुन थालेका छन् भने निर्वाचन प्रक्रिया सुरु हुन केही समय मात्र बाँकी छ।

निर्वाचन आयोगका अनुसार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि व्यवस्थापकीय कारणले मतदानस्थल परिवर्तन गरिएको छ। भृकुटीमण्डपको मुख्य हल अन्य प्रयोजनका लागि बुक भइसकेकाले बन्दसत्र भइरहेकै स्थानलाई मतदान केन्द्र बनाइएको हो। त्यसपछि प्रतिनिधिहरूले त्यहीँ लाइन लागेर मतदान गर्ने तयारी थालेका छन्।

महाधिवेशनका लागि देशभरबाट २ हजार २६२ जना प्रतिनिधि छनोट भई आएका छन्। उनीहरूको मत संकलनका लागि यसपटक ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ। यी उपकरण रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको हो, जुन एमालेले अघिल्ला महाधिवेशनहरूमा पनि प्रयोग गर्दै आएको छ।

प्राविधिक पक्ष सम्हालिरहेका लक्ष्मण रिमालका अनुसार सबै मेसिनमा आवश्यक डाटा प्रविष्ट गरी मतदानका लागि तयार अवस्थामा राखिएको छ। हल परिवर्तन गर्नुपरेपछि उपकरणको स्थानसमेत सारिएको उनले जानकारी दिए।

प्रत्येक मतदातालाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने र विद्युतीय प्रणाली भएकाले करिब दुई घण्टाभित्रै नतिजा सार्वजनिक हुने तयारी छ।

प्रतिनिधिहरूको लामो लाइन, मेसिनमार्फत हुने मतदान र छिटो परिणाम—यी सबै कारणले एमाले महाधिवेशनको यो मतदान चरणलाई विशेष चासोका साथ हेरिएको छ।


प्रतिक्रिया