रातभर के भयो रवि र बालेनबीच? बिहान ४ बजे भएको हस्ताक्षरले राजनीतिमा ल्यायो ठूलो तरंग

ecopolinews.com

काठमाडौं, पुस १३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच राजनीतिक ‘बृहत् एकता’ सम्बन्धी औपचारिक सहमतिमा हस्ताक्षर भएको छ।

शनिबार बेलुकादेखि जारी दुई पक्षबीचको लामो बैठकपछि आइतबार बिहान करिब ४ बजे सहमतिमा हस्ताक्षर भएको हो। यस सहमतिले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत दिएको छ।

सहमति अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ। पार्टीको नाम, झण्डा र चुनाव चिन्ह भने यथावत् राष्ट्रिय स्वतन्त्र पार्टीकै रहनेछ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने व्यवस्था गरिएको छ।

सहमति पत्रमा पार्टीको केन्द्रीय समिति र अन्य संरचनाबारे विस्तृत व्यवस्था उल्लेख नभए पनि बालेन शाहका तर्फबाट केन्द्रीय सदस्य थप गरी निर्वाचन आयोगमा पार्टीका दस्तावेज अद्यावधिक गर्ने समझदारी भएको जनाइएको छ।

बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप फराकिलो र सक्षम बनाइने उल्लेख गर्दै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गरिने सहमति भएको छ। जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार बनाइने सहमतिमा स्पष्ट गरिएको छ।

सहमति पत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले चलाएका आन्दोलन, जनआन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुशासन कायम गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।

यस सहमतिसँगै ‘घण्टी’ चुनाव चिन्ह, उदार अर्थतन्त्र, सामाजिक न्याय र लोकतान्त्रिक सुशासनका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आव्हान गरिएको छ।

रवि–बालेनबीचको यो सहमतिलाई समकालीन नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरूको एकीकरणतर्फको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

प्रतिक्रिया