प्रहार जति भए पनि एमाले डगमगाउँदैन’- बर्तौलाको कडा सन्देश

ecopolinews.com

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिस्पर्धालाई एमालेले सधैं आत्मसात् गर्दै आएको लोकतान्त्रिक अभ्यास भएको बताएका छन्। बुधबार भृकुटीमण्डपमा जारी बन्दसत्रका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले आज पनि जनताको विश्वास र समर्थन पाएको पार्टी रहेको दाबी गरे।

देशले सामना गरिरहेको जटिल राजनीतिक अवस्थाबाट निकास दिन सक्ने क्षमता एमालेसँग मात्रै रहेको उल्लेख गर्दै बर्तौलाले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभित्र रहेर मुलुकलाई अघि बढाउने जिम्मेवारी एमालेले लिने स्पष्ट पारे। उनले राजनीतिक स्थायित्व कायम गर्नु वर्तमानको मुख्य आवश्यकता भएको भन्दै, सो लक्ष्य पूरा गर्न महाधिवेशनले पार्टीलाई अझ एकतावद्ध बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीभित्रका विविध भावना र आवाजलाई समेटेर समावेशी ढंगले अघि बढ्नेछ। “एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा जुनसुकै परिस्थितिमा पनि दृढताका साथ उभिन्छ,” उनले भने।

एमाले कमजोर पार्ने उद्देश्यले गरिने प्रयासप्रति संकेत गर्दै बर्तौलाले पार्टी फुट्छ भनेर आशा गर्नेहरू वा एमालेबाट व्यक्ति ल्याएर नयाँ पार्टी बनाउने सपना देख्नेहरूको चाहना कहिल्यै पूरा नहुने दाबी गरे। एमाले विचार, संगठन र जनसमर्थनका हिसाबले मजबुत शक्ति भएको उनको भनाइ थियो।

प्रतिक्रिया