कुलमान घिसिङले लिए गुरु आमाको स्वास्थ्य अवस्थाबारे जानकारी

ecopolinews.com

काठमाडौं, असोज १ – ऊर्जा मन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालसँग उनकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे फोनमार्फत जानकारी लिएका छन्।

गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा डल्लुस्थित खनाल निवासमा भएको आगजनी र तोडफोडमा परेर चित्रकार गम्भीर घाइते भएकी थिइन्। हाल उनी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छिन्।

घिसिङको सचिवालयका अनुसार, मंगलबार साँझ मन्त्री घिसिङले खनाललाई सम्पर्क गर्दै स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका थिए। खनालले पत्नीको अवस्था क्रमशः सुधार भइरहेको जानकारी गराएका छन्।

चित्रकारले विगतमा घिसिङलाई अध्यापन गराएकी थिइन्। त्यसैले, ‘गुरुआमाको’ स्वास्थ्यबारे चासो जनाउँदै उनले व्यक्तिगत रूपमा खनाललाई फोन गरेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया