काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालय र विद्यालय स्तरमा शिक्षा गुणस्तर सुनिश्चित गर्न कडा निर्देशन दिएका छन्। मन्त्री पुनले सबै कर्मचारी र सम्बन्धित निकायलाई स्पष्ट संकेत गर्दै भने, विश्वविद्यालयहरूले परीक्षा परिणाम तीन महिनाभित्र प्रकाशन नगरे, तिनको अनुदान रोक्का गरिनेछ।
उनका अनुसार, केही विश्वविद्यालयले परीक्षा लिएर परिणाम निकाल्न ८ महिना देखि १ वर्षसम्म समय लिने गरेको पाइएछ, जसले विद्यार्थीहरूको शिक्षा र भविष्यमा अपूरणीय क्षति पुर्याउँछ। त्यसैले अब परिणाम प्रकाशनमा ढिलाइ गर्न पाईने छैन।
साथै, उनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षाबाट विद्यार्थीहरू बञ्चित नहुन् भन्ने उद्देश्यले प्रत्येक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिएका छन्।
उनीसंगै, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको परिसरलाई आकर्षक बनाउन झाडी फाँडेर सुन्दर बगैँचा र फुटपाथ निर्माण गर्ने काम पनि उनले निर्देशन दिएका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत यी तीन बुँदे निर्देशिका जानकारी दिएका छन्, जसले शिक्षा क्षेत्रको सुधार र व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
मन्त्री पुनको यो कदमलाई शिक्षा क्षेत्रमा पारदर्शिता, गुणस्तर र आधुनिक शिक्षापद्धति प्रवर्द्धनतर्फको ठोस संकेतका रूपमा लिइएको छ।