काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई कडा चेतावनी दिएका छन् । अमेरिकाले सही ठानेको बाटो नअपनाए रोड्रिगेजको अवस्था पूर्वराष्ट्रपति निकोलास मादुरोभन्दा पनि “नराम्रो” हुने ट्रम्पको चेतावनीले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
ट्रम्पले प्रतिष्ठित अमेरिकी पत्रिका द अटलान्टिकलाई दिएको अन्तर्वार्तामा भने, “यदि डेल्सी रोड्रिगेजले भेनेजुएलाका लागि अमेरिका सही ठान्ने निर्णयहरू कार्यान्वयन नगरे, उनको हाल मादुरोभन्दा पनि खराब हुन सक्छ।” ट्रम्पको यो भनाइलाई प्रत्यक्ष राजनीतिक दबाब र शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।
एक दिनअघि मात्रै ट्रम्पले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोड्रिगेजसँग प्रत्यक्ष संवाद गरेको जानकारी दिएका थिए । ट्रम्पका अनुसार, रोड्रिगेज पक्ष भेनेजुएलामा जनताको जीवनस्तर सुधार गर्ने अमेरिकी अपेक्षाअनुसार अघि बढ्न तयार देखिएको संकेत आएको छ ।
यसैबीच, न्यूयोर्क पोस्टलाई दिएको अर्को अन्तर्वार्तामा ट्रम्पले अझ स्पष्ट सन्देश दिएका छन् । रोड्रिगेजले अमेरिकाको कुरा मानेमा भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्नु नपर्ने उनले बताए । यसले अमेरिका कूटनीतिक दबाब र सैन्य विकल्प दुवै खुला राखेर अघि बढिरहेको संकेत गर्छ ।
तर, भेनेजुएलाको आन्तरिक राजनीतिमा परिस्थिति अझ जटिल बन्दै गएको छ । डेल्सी रोड्रिगेजले निकोलास मादुरोलाई सत्ताबाट हटाइएको घटनाको आलोचना गर्दै उनको फिर्ती माग गरेकी छन् । भेनेजुएलाको सर्वोच्च अदालतले भने उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिका रूपमा राष्ट्रपतिको सम्पूर्ण अधिकारसहित तुरुन्त कार्यभार सम्हाल्न आदेश दिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था ब्लूमबर्गका अनुसार यो आदेश ‘प्रशासनिक निरन्तरता’ र ‘राष्ट्रिय सुरक्षा’ का नाममा जारी गरिएको हो ।
अर्कातर्फ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा अमेरिकाको कुनै ‘कब्जा’ नभएको स्पष्ट पारेका छन् । सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा रुबियोलाई भेनेजुएलामा अमेरिकी कब्जा छ कि छैन भन्ने प्रश्न गर्दा उनले भने, “राष्ट्रपति ट्रम्पसँग सबै विकल्प खुला छन्, तर अहिले जमिनमा अमेरिकी कब्जाको अवस्था छैन।”
यद्यपि, यसअघि जनवरी ३ मा ट्रम्पले सामाजिक सञ्जालमा भेनेजुएलामा अमेरिकी कब्जासम्बन्धी संकेत गर्ने पोस्ट गरेपछि अन्तर्राष्ट्रिय समुदायमा चासो र आशंका दुवै बढेको थियो ।
ट्रम्पको पछिल्लो चेतावनी, रुबियोको कूटनीतिक स्पष्टोक्ति र भेनेजुएलाको न्यायालयको निर्णयले लाटिन अमेरिकी मुलुक भेनेजुएला फेरि एकपटक विश्व राजनीतिका केन्द्रमा पुगेको छ । अब प्रश्न उठेको छ— डेल्सी रोड्रिगेज अमेरिकाको ‘सर्त’ मान्ने बाटो रोज्छिन् कि टकरावको जोखिम उठाउँदै स्वायत्तताको लडाइँ अघि बढाउँछिन् ?