काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच United Nations Interim Force in Lebanon अन्तर्गत लेबननमा तैनाथ नेपाली शान्ति सैनिकको बटालियन मुख्यालयमा हवाई प्रहार भएको छ। दक्षिणपूर्वी लेबननको अल-जाबेल क्षेत्रमा ब्लु लाइन नजिक रहेको नेपाली बटालियन हेडक्वार्टरमा शुक्रबार साँझ अज्ञात वस्तु खस्दा एक भवनमा क्षति पुगेको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत ले घटनाको पुष्टि गर्दै सामान्य भौतिक क्षतिबाहेक कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन्। उनका अनुसार घटना हुँदा शान्ति मिसनमा रहेका सबै नेपाली सैनिक सुरक्षित रूपमा बंकरभित्र रहेकाले ठूलो दुर्घटना टरेको हो।
उनले बताएअनुसार, बटालियन हेडक्वार्टरको एउटा भवनमा अज्ञात वस्तु लागेपछि केही समय आगलागी भएको थियो, जसलाई तत्काल नियन्त्रणमा लिइएको थियो। आक्रमण कहाँबाट र कसरी भयो भन्नेबारे अझै स्पष्ट नभएको र यसको विस्तृत अनुसन्धान संयुक्त राष्ट्रसंघमार्फत हुने बताइएको छ।
हाल Lebanon मा Hezbollah र Israel बीचको तनाव चर्किरहेका बेला शान्ति सेनामाथि पर्ने जोखिम बढिरहेको छ। पछिल्ला दिनहरूमा दक्षिण लेबनन क्षेत्रमा लगातार हवाई आक्रमण भइरहेका छन्, जसको प्रभाव संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा समेत देखिन थालेको छ।