टी-२० विश्वकपमा भारतको ऐतिहासिक साम्राज्य: एकैसाथ तोडिए चार शक्तिशाली कीर्तिमान

ecopolinews.com

अहमदाबादको विशाल नरेन्द्र मोदी स्टेडियममा आइतबार क्रिकेट इतिहासकै एउटा स्वर्णिम अध्याय लेखिएको छ। आईसीसी टी-२० विश्वकप २०२६ को सनसनीपूर्ण फाइनल भिडन्तमा न्युजिल्यान्डलाई ९६ रनको विशाल अन्तरले स्तब्ध पार्दै भारतले विश्वकपको उपाधि मात्र जितेन, क्रिकेट जगतमा कहिल्यै नमेटिने गरी चारवटा दुर्लभ कीर्तिमान समेत आफ्नो नाममा लेखाएको छ। १ लाख २० हजारभन्दा बढी घरेलु दर्शकको गर्जनबीच भारतले आफूलाई 'टी-२० क्रिकेटको निर्विकल्प राजा' प्रमाणित गरेको छ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २५५ रनको विशाल योगफल तयार पारेको थियो। भारतका लागि ओपनर सन्जु सामसन, अभिषेक शर्मा र इशान किसनले विष्फोटक अर्धशतक प्रहार गरे भने अन्तिममा शिवम् दुबेले ६ बलमा २६ रनको 'क्यामियो' इनिङ खेल्दै टोलीलाई विशाल लक्ष्यसम्म पुर्‍याए। जवाफमा २५६ रनको पहाड पछ्याएको न्युजिल्यान्ड भारतीय बलरको धारिलो बलिङसामु टिक्न सकेन र १५९ रनमै अलआउट भयो। जसप्रित बुमराहले घातक बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट चट्काए।

यी हुन् भारतले कायम गरेका चार ऐतिहासिक कीर्तिमान

१. तीन पटक विश्वकप जित्ने विश्वकै पहिलो राष्ट्र

भारत टी-२० विश्वकपको इतिहासमा तीन पटक उपाधि जित्ने पहिलो टोली बनेको छ। सन् २००७ को पहिलो संस्करण जितेको भारतले २०२४ मा दोस्रो र अहिले २०२६ मा तेस्रो पटक उपाधि उचाल्दै दुई-दुई पटक जितेका इंग्ल्यान्ड र वेस्ट इन्डिजलाई पछि पारेको छ।

२. उपाधि रक्षा गर्ने (ब्याक-टु-ब्याक) पहिलो टिम

टी-२० विश्वकपको दुई दशक लामो इतिहासमा अहिलेसम्म कुनै पनि टोलीले लगातार दुई पटक उपाधि जित्न सकेका थिएनन्। सन् २०२४ मा दक्षिण अफ्रिकालाई हराएर च्याम्पियन बनेको भारतले यसपटक न्युजिल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक उपाधि जितेर 'डिपेन्डिङ च्याम्पियन' को साख कायम राख्ने पहिलो टोलीको कीर्तिमान बनाएको छ।

३. घरेलु मैदानमा विश्वकप जित्ने पहिलो आयोजक

अहिलेसम्म आयोजक राष्ट्रले आफ्नै भूमिमा टी-२० विश्वकपको ट्रफी उठाउन सकेका थिएनन्। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणको फाइनलमा भारतले घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै इतिहासकै पहिलो 'होम च्याम्पियन' बन्ने शौभाग्य पाएको छ।

४. न्युजिल्यान्डमाथिको 'विश्वकप कर्स' अन्त्य

भारतका लागि यो जित अर्को अर्थमा पनि विशेष रह्यो। यसअघि टी-२० विश्वकपका तीनवटै भेटमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो। सन् २००७, २०१६ र २०२५ को पीडादायी हारको बदला भारतले सिधै विश्वकपको फाइनलमा लिएर न्युजिल्यान्ड विरुद्धको जितविहीन यात्रा समाप्त पारेको छ।

प्रतिक्रिया