टाइम बम प्रकरणसँग जोडिएपछि पार्टी उपाध्यक्ष निलम्बन, हर्क साम्पाङले किन उठाए कडा कदम?

ecopolinews.com

काठमाडौं, पुस २ —श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टी उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई निलम्बन गरेका छन्। लामालाई प्रहरीले गम्भीर आपराधिक मुद्दामा पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै यो निर्णय सार्वजनिक गरेका हुन्।

लामाविरुद्ध २०६८ साल फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको टाइम बम विस्फोटमा संलग्न रहेको आरोप छ। उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।

प्रहरीका अनुसार लामालाई यसअघि पनि २०६९ सालमा विष्फोटक पदार्थसहित पक्राउ गरिएको थियो। पछि अनुसन्धानका क्रममा केन्द्रीय कारागार नख्खु चलान गरिएका उनी २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा रिहा भए पनि पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थसम्बन्धी मुद्दामा फरारकै सूचीमा थिए। हाल उनलाई पुनः पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाइएको छ।

भिडिओ सन्देशमा हर्क साम्पाङले लामाको विगत पृष्ठभूमिबारे आफूलाई जानकारी नभएको बताएका छन्। उनले भने, “उहाँ विभिन्न राजनीतिक अभियान र पार्टीमा संलग्न रहनुभएको भन्ने कुरा बाहेक अरू गहिरो पृष्ठभूमिबारे म अनविज्ञ थिएँ।”

साम्पाङले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै भनेका छन्, “उहाँ निर्दोष प्रमाणित भएर बाहिर ननिस्कुन्जेलसम्म पार्टीको जिम्मेवारीमा राख्न मिल्दैन।”

उनका अनुसार राजकुमार लामा ‘कुमार’, ‘विश्वक्रान्ति’ र ‘देवराज लामा’ गरी तीन फरक नामबाट चिनिने व्यक्ति हुन्।

यस घटनाले श्रम संस्कृति पार्टीभित्र मात्रै होइन, समग्र राजनीतिक वृत्तमा समेत तरंग ल्याएको छ।

प्रतिक्रिया