काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का ‘भागेका छन्’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका प्रभावशाली नेता मनिष जंग थापाले तीव्र प्रतिक्रिया दिएका छन्।
थापाले गृहमन्त्री अर्यालको अभिव्यक्तिलाई “बिना प्रमाण, बिना सूचना र बिना संयन्त्रको गैरजिम्मेवार अभिव्यक्ति” भन्दै कडा चेतावनी दिएका छन्। उनले भने,
“गृह मन्त्रालयको जिम्मेवारी राज्यको सुरक्षा र जनताको विश्वास कायम गर्नु हो, तर अहिलेको अन्तरिम सरकारले सूचना संयन्त्रलाई कमजोर बनाउँदै जनतालाई झुक्याउने काम गरिरहेको छ।”
थापाले गृहमन्त्रीको उक्त टिप्पणीले सरकारको विश्वासनीयता र राज्य संयन्त्रको क्षमतामाथि नै प्रश्न उठाएको बताए। उनका अनुसार, “यस्तो गैरजिम्मेवार र असत्य प्रचारले देश र जनताको मनोबल तोड्ने काम हुन्छ।”
उनी भन्छन्,
“नेपाली कांग्रेस र नेविसंघ कहिल्यै पनि देश र जनतालाई छोड्दैनन्। देशको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानमाथि कुनै खतरा आए काँग्रेस र नेविसंघ बलिदान दिन तयार छन्।”
थापाले थप आरोप लगाउँदै भने,
“देशका कर्णधारहरू र युवापुस्तालाई भ्रममा पार्दै केही स्वार्थी समूहहरू ‘जेन जी’ लाई प्रयोग गरेर देश कमजोर पार्ने प्रयासमा छन्। तर त्यस्तो प्रयास सफल हुन दिइने छैन।”
यसैबीच, भागेको भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का भने आफ्नो बुढानीलकण्ठस्थित आन्दोलनकारीले जलाएको घरमै पत्रकारहरूसँग अन्तरक्रिया गर्दै सरकारको आरोप अस्वीकार गरेका छन्।