सुजन चिलुवाल - स्विट्जरल्यान्डको दक्षिणपश्चिमी क्षेत्रस्थित विश्वप्रसिद्ध स्की रिसोर्ट क्रान्स–मोन्टानामा नयाँ वर्षको उल्लासमय उत्सव शोकमा परिणत भएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा भीडभाडबीच रहेको ‘ले कन्स्टेलेसन’ (Le Constellation) नामक बारमा भएको भीषण विस्फोट र त्यसपछि लागेको आगलागीमा करिब ४० जनाको ज्यान गएको र ११५ भन्दा बढी व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
घटना स्थानीय समयअनुसार बिहान १:३० बजे (००:३० GMT) भएको हो। विस्फोटपछि आगो तीव्र रूपमा फैलिँदा बारभित्र रहेका सयौँ मानिस फस्न पुगेका थिए। घटनापछि सुरक्षाका कारण सम्पूर्ण क्षेत्र कर्डन अफ गरिएको छ भने क्रान्स–मोन्टानामाथि नो–फ्लाइ जोन लागू गरिएको प्रहरीले जनाएको छ।
कारण अझै अज्ञात
स्विस सञ्चारमाध्यम ब्लिकले नयाँ वर्षको कन्सर्टका क्रममा प्रयोग गरिएको पटाका (फायरवर्क्स) का कारण आगलागी हुनसक्ने प्रारम्भिक अनुमान गरेको भए पनि प्रहरीले विस्फोटको कारण अहिलेसम्म पुष्टि नभएको स्पष्ट पारेको छ।
प्रहरी प्रवक्ता गाएतान लाथियोनका अनुसार, “हामी अनुसन्धानको सुरुवाती चरणमै छौँ। यो अन्तर्राष्ट्रिय रूपमा चर्चित पर्यटकीय गन्तव्य भएकाले घटनाको प्रभाव निकै गम्भीर छ।”
धेरैको अवस्था गम्भीर
भाले क्यान्टनका स्टेट काउन्सिल अध्यक्ष माथियास रेनार्दले विभिन्न अस्पतालमा उपचाररत ११५ घाइतेमध्ये उल्लेख्य संख्या गम्भीर अवस्थामा रहेको जानकारी दिएका छन्। बारभित्र त्यतिबेला कति मानिस थिए भन्ने यकिन तथ्यांक अझै आउन सकेको छैन।
सहायता केन्द्र र हेल्पलाइन सञ्चालन
घटनाबाट प्रभावित परिवार र आफन्तका लागि रिसेप्सन सेन्टर र हेल्पलाइन स्थापना गरिएको छ। उद्धार, उपचार र पहिचानको काम तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।
विश्वकपको तयारीमा रहेको रिसोर्टमा शोक
लक्जरी स्की रिसोर्टका रूपमा परिचित क्रान्स–मोन्टाना स्विस राजधानी बर्नबाट करिब दुई घण्टा टाढा अवस्थित छ। यही रिसोर्टमा जनवरीको अन्त्यतिर FIS स्पिड स्कीइङ वर्ल्ड कप आयोजना हुने तालिका रहेको थियो। तर यो भीषण दुर्घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेको र थप विवरण क्रमशः सार्वजनिक गरिने जनाएको छ।