रविन्द्र कट्टेल - काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता, सहमहामन्त्री तथा पूर्व बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले मनमैजु छन्त्याल संघ अगाडि अवस्थित नर्थन रुबी वेलनेस सेन्टरमा पार्टी कार्यकर्ताहरूसँग समसामयिक नेपाली राजनीति र आसन्न निर्वाचन केन्द्रित गहिरो छलफल गर्नुभएको छ।
छलफलका क्रममा नेता लामाले अबको नेपाली काँग्रेसको स्पष्ट राजनीतिक दिशा, सुशासन, देश विकास र जनताको भविष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको हक, हित र अधिकारको संरक्षण नै काँग्रेसको मूल चुनावी एजेण्डा हुने स्पष्ट पार्नुभयो।
कार्यक्रमका दौरान नेता लामाले नर्थन रुबी वेलनेस सेन्टरको निरीक्षण गर्दै यहाँ उपलब्ध सौना, स्टिम तथा ज्याकुजी सेवाको अवलोकन गर्नुभयो। स्वास्थ्य र जीवनशैली सुधारमा यस्ता आधुनिक सेवा केन्द्रहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले वेलनेस सेन्टरका सञ्चालक प्रेम तामाङ र मान तामाङलाई व्यवसायिक सफलताको शुभकामना दिनुभयो। साथै, युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारी सिर्जनातर्फ प्रेरित गर्न यस्ता पहलहरू उदाहरणीय रहेको उहाँको भनाइ थियो।
छलफलमा नेपाली काँग्रेसका प्रभावशाली युवा नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि डेभिड घलेको पनि सहभागिता रहेको थियो। उहाँले अबको मुख्य लक्ष्य देश विकास र प्रभावकारी सुशासन भएको बताउँदै काँग्रेसले युवाको ऊर्जा र जनताको भरोसामाथि चुनावी यात्रालाई सशक्त बनाउने धारणा राख्नुभयो।
समग्रमा, उक्त भेटघाट तथा छलफलले नेपाली काँग्रेसको चुनावी एजेण्डा-सुशासन, विकास, स्वास्थ्य र युवामैत्री नीतिलाई थप स्पष्ट र प्रभावशाली बनाएको सहभागीहरूको निष्कर्ष रहेको छ।