काठमाडौँ । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी, नवप्रवर्तनशील र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना हुन लागेको ‘नेपाल शिक्षा सम्मेलन–२०२५’ को आयोजक टिममा शिक्षा अभियन्ता रमेश घिमिरे पनि सहभागी हुनु भएको छ।
“नेपालमै अध्ययन गरौँ – भविष्य सशक्त बनाऔँ, राष्ट्र उकासौँ” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यो राष्ट्रियस्तरको शैक्षिक सम्मेलन मधेश विश्वविद्यालय र कलेज रिडर्स को संयुक्त आयोजनामा हुँदैछ। सम्मेलनमा नीति निर्माता, विश्वविद्यालयका नेतृत्व, शिक्षाविद्, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका सरोकारवालाहरू एकै थलोमा भेला भई नेपालको उच्च शिक्षा प्रणालीका चुनौती, अवसर र समाधानका उपायहरूबारे गहन छलफल गर्नेछन्।
सम्मेलनले डिजिटल शिक्षाको विस्तार, शैक्षिक नवप्रवर्तन, अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डसँगको समायोजन, प्रतिभा पलायन रोकथाम तथा नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकताका साथ उठान गर्ने लक्ष्य लिएको छ।
शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय योगदान दिँदै आउनु भएका रमेश घिमिरे ले नीति–संवाद, शैक्षिक सुधार र युवालाई नेपालमै अवसर सिर्जना गर्ने अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ। उहाँको अनुभव, दूरदृष्टि र सक्रियताले सम्मेलनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विश्वास आयोजक पक्षले लिएको छ।
नेपाल शिक्षा सम्मेलन–२०२५ ले अर्थपूर्ण संवाद, सहकार्य र नेटवर्किङमार्फत नेपालको उच्च शिक्षाको भविष्य निर्माणमा ठोस दिशा दिने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रलाई राष्ट्रिय समृद्धिको मेरुदण्डका रूपमा स्थापित गर्न यो सम्मेलन एक महत्वपूर्ण कोशेढुंगा सावित हुने आयोजकहरूको विश्वास छ।