गोवाकाे चर्चित नाइट क्लबमा रातभरि के भयो ? एकैपटक २३ जनाको मृत्यु !

ecopolinews.com

भारतकाे गोवास्थित अर्पोरामा शनिबार राति एक नाइट क्लबमा भएको भयंकर आगलागीमा २३ जनाको ज्यान गएको छ। राजधानी पनजीबाट करिब २५ किलोमिटर टाढा रहेको ‘बर्च बाइ रोमियो लेन’ नामक क्लबमा मध्यराततिर अचानक आगो फैलिँदा भित्र रहेका मानिसहरूलाई बाहिर निस्किनसमेत नपाएको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुखका अनुसार ग्यास सिलिन्डर विस्फोट नै दुर्घटनाको सुरुआत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आगोले क्लबभित्र एकैछिनमा धुवाँ भरिँदा धेरैजसो मानिस निसास्सिएर मृत्यु भएका छन्।

मृतकमध्ये क्लबको किचन स्टाफ सबैभन्दा बढी रहेको बताइएको छ भने तीन महिला र केही विदेशी पर्यटक समेत परेका छन्।

गोवाका मुख्यमन्त्रीले क्लबले अग्नि सुरक्षा मापदण्ड पालन नगरेको आशंका गर्दै व्यवस्थापन र अनुमति दिने अधिकारीसम्म कारबाही हुने चेतावनी दिएका छन्।

रातभर चलेको राहत–उद्धारपछि सबै शव बाम्बोलिमस्थित सरकारी मेडिकल कलेज लगिएको छ।

घाइतेहरूलाई नजिकका अस्पतालमा उपचार गरिँदै छ।

एक वर्षअघि मात्र सञ्चालनमा आएको भनिएको यस क्लबमा भएको दुर्घटना हाल चलिरहेको पर्यटकीय सिजनकै बीचमा परेकाले स्थानीय प्रशासनले यसलाई ‘गम्भीर लापरवाही’ को रुपमा हेरिरहेको छ।

प्रतिक्रिया