अमेरिकाको म्यान्टुआ क्षेत्रमा सोमबार बिहान भएको भयावह घरेलु घटनामा एक व्यक्तिले आफ्नै परिवारका सदस्यमाथि छुरा प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटनास्थलमा पुगेका प्रहरीमाथि आक्रमणकारीले निर्देशन नमान्दा प्रहरीले गोली चलाउँदा उनको पनि मृत्यु भएको छ।
स्थानीय समयअनुसार बिहान करिब ५ बजे पर्सिमन सर्कलको ३९०० ब्लकमा घटना भएको हो। प्रहरीका अनुसार करिब ५० वर्षका ती व्यक्तिले आफ्नै छोरी र श्रीमतीमाथि छुरा प्रहार गरेका थिए। छोरीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते श्रीमतीको अस्पतालमा उपचारका क्रममा बिहान करिब ९ बजेतिर निधन भएको हो।
प्रहरी प्रमुख केभिन डेभिसका अनुसार घटनाको सुरुवात घरबाहिर रहेका ज्वाइँले घरभित्रको हल्ला सुनेपछि भित्र प्रवेश गर्दा भएको थियो। भित्र प्रवेश गर्दा उनले आफ्नी श्रीमती (आक्रमणकारीकी छोरी) र सासूमाथि छुरा प्रहार भइरहेको देखेका थिए। ज्वाइँ पनि आक्रमणमा परेर गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।
घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले आक्रमणकारीलाई छुरा फ्याँक्न पटक–पटक चेतावनी दिएका थिए। तर उनले आदेश नमानेपछि एक प्रहरी अधिकृतले गोली चलाएका थिए। घाइते आक्रमणकारीमाथि सीपीआर प्रयास गरिए पनि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको भनिएको छुरा बरामद गरेको छ। घरभित्रै रहेका एक वर्षका बालक भने सुरक्षित भेटिएका छन्।
प्रहरी प्रमुख डेभिसले यस घटनालाई “आफ्नै परिवारमाथि गरिएको अकल्पनीय रक्तपात” भन्दै दुःख व्यक्त गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।