रौतहट, कात्तिक ५ — पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक आज बिहान यात्रु बोकेको बसमा भीषण आगलागी भएको छ।
काठमाडौँबाट तिहारका यात्रु लिएर चन्द्रपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब सवा सात बजे अचानक आगो लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार बसको ब्याट्रीको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो लागेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको संयुक्त प्रयासमा करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको कार्कीले बताए। तर आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।
सौभाग्यवश घटनामा कुनै मानवीय क्षति भएको छैन। आगो देख्नेबित्तिकै यात्रुहरू समयमै बसबाट निस्केर ज्यान जोगाउन सफल भएका थिए।
आगलागीका कारण केही समयका लागि पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको आवागमन अवरुद्ध भएको भए पनि पछि यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ।