काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार कीर्तिपुरको त्रिवि मैदानमा भएको रोमाञ्चक खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ। यो जितसँगै चितवनले प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
टस जितेर पहिले बलिङ रोजेको चितवनले कर्णालीलाई २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रनमा रोकेको थियो। कर्णालीका लागि भारतका पूर्व घरेलु स्टार प्रियांक पञ्चालले सन्यासपछि पहिलो ठूलो प्रतियोगितामा विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
जवाफमा चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर १६७ रनको लक्ष्य पूरा गर्यो। चितवनको जितका नायक बने पूर्व इंग्लिस अलराउन्डर रवी बोपारा र पाकिस्तानी ब्याटर सइफ जइब। बोपाराले ३६ बलमा ३ चौका र ३ छक्कासहित ५२ रनको आक्रमक अर्धशतक प्रहार गरे भने सइफले मात्र १६ बलमा ३८ रन (३ छक्का सहित) जोड्दै खेललाई अन्तिम ओभरअघि नै लगभग सकाए।
ओपनर दीपक बोहराले पनि ४२ रनको महत्वपूर्ण योगदान दिए। कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यो जितसँगै चितवन राइनोज एनपिएलको अंक तालिकामा बलियो स्थितिमा पुगेको छ भने कर्णालीले लगातार दोस्रो हार बेहोरेको छ।