क्यानडाको विद्यालयमा रगतपात: महिला आक्रमणकारीको अन्धाधुन्ध गोलीकाण्डमा १० जनाको ज्यान गयो

ecopolinews.com

सुजन चिलुवाल - काठमाडौँ, माघ २८ - क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित टम्बलर रिजको एक माध्यमिक विद्यालयमा मंगलबार अपराह्न भएको अन्धाधुन्ध गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा २५ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

रकी पर्वत शृंखलाको फेदीमा पर्ने दुर्गम नगरपालिका टम्बलर रिजमा हिउँ परिरहेकै बेला भएको यस घटनाले सिंगो क्यानडालाई स्तब्ध बनाएको छ। स्थानीय समयअनुसार मंगलबार अपराह्न विद्यालयभित्र प्रवेश गरेकी खैरो कपाल र खैरै पहिरनमा देखिएकी एक महिलाले अन्धाधुन्ध गोली चलाएकी थिइन्।

रोयटर्सका अनुसार ६ जनाको शव विद्यालयभित्रै फेला परेको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। विद्यालय नजिकैको एक भवनमा दुई जना मृत भेटिएका छन्। घरभित्र मृत भेटिएका व्यक्तिहरू पनि सोही गोलीकाण्डका शिकार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आक्रमणकारी महिला घटनास्थलमै मृत भेटिएकी छन्। प्रत्यक्षदर्शीले दिएको हुलियासँग मिल्दोजुल्दो महिला मृत फेला परेको र उनी नै आक्रमणकारी भएको पुष्टि गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनले अन्धाधुन्ध गोली चलाएपछि आफैंलाई गोली हानेको बताइएको छ।

आक्रमणकारीको पहिचान खुलिसकेको भए पनि प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। घटनाको उद्देश्य पनि स्पष्ट भइसकेको छैन। प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

क्यानडामा यसअघि पनि ठूला गोलीकाण्डका घटना भएका छन्। सन् २०२० मा नोभा स्कोटियामा २२ जनाको ज्यान जाने गरी भएको आक्रमण र सन् १९८९ मा मोन्ट्रियलस्थित इकोल पोलिटेक्निकमा १४ महिला विद्यार्थीको हत्या गरिएका घटनाले देशलाई गहिरो चोट पुर्‍याएको थियो।

टम्बलर रिजको यो पछिल्लो घटनाले पुनः क्यानडामा विद्यालय सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया