काठमाडौँ, ३ असोज । सरकारले पुँजीबजारमा देखिएका समस्या समाधानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा चुनौतीको अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल बढाउने र दीर्घकालीन सुधारका लागि ठोस रोडम्याप तयार पार्ने उद्देश्यले कार्यदल गठन गरिएको हो।
धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा बनेको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कायममुकायम कार्यकारी निर्देशक निरञ्जन भट्टराई र अर्थ मन्त्रालयका उपसचिव शरद् निरौला सदस्य सचिवका रूपमा रहेका छन्।
कार्यदलले प्रणालीगत र प्रक्रियागत सुधारका लागि स्पष्ट सुझावसहित कार्यान्वयन योग्य योजना सरकारसमक्ष पेस गर्नेछ।
३ असोज २०८२, शुक्रबार ०२:४४ मा प्रकाशित