तारकेश्वरमा ग्यास अभावको रहस्य खुल्यो : उपमेयर सृजना बुर्लाकोटीको अनुगमनमा सयौँ सिलिन्डर बरामद

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौँ । तारकेश्वर नगरपालिका क्षेत्रमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभाव नियन्त्रण गर्न उपमेयर सृजना बुर्लाकोटी अर्याल को नेतृत्वमा बुधबार बिहान गरिएको आकस्मिक बजार अनुगमनले लुकाइएका सयौँ ग्यास सिलिन्डर बाहिर ल्याएको छ। उपभोक्ता हितमाथि प्रत्यक्ष असर पार्ने गतिविधिविरुद्ध नगरपालिकाले देखाएको यो सक्रियता स्थानीय तहको जिम्मेवार हस्तक्षेपका रूपमा उच्च रूपमा मूल्याङ्कन गरिएको छ।

अनुगमन टोलीले बजार क्षेत्रका विभिन्न १० वटा पसल तथा भण्डारण स्थलमा निरीक्षण गर्दा २०० भन्दा बढी ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला पारेको थियो। शेषमती पुल नजिक रहेको एक ग्यास डिपोले आफ्नो आधिकारिक डिपोभन्दा टाढा रहेको गोदाममा २५ भन्दा बढी भरिएका १४.५ केजीका सिलिन्डर गोप्य रूपमा राखेको भेटिएपछि तत्काल उपभोक्तालाई वितरण गर्न निर्देशन दिइएको छ।

उपमेयर सृजना बुर्लाकोटी अर्यालले अनुगमनका क्रममा “बजारमा अभाव देखाएर उपभोक्तालाई दुःख दिने र भण्डारण गरेर कृत्रिम संकट सिर्जना गर्ने प्रवृत्ति सह्य नहुने” स्पष्ट सन्देश दिनुभयो। उहाँले उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुमा हुने अनियमितताप्रति नगरपालिका शून्य सहनशीलताका साथ अघि बढ्ने बताउनुभयो। 

पछिल्लो एक सातादेखि तारकेश्वर बजारका अधिकांश ग्यास डिलरहरूले ‘ग्यास आएको छैन’ भन्दै उपभोक्तालाई फर्काइरहेका थिए। तर अनुगमनले बजारमा आपूर्ति नभई नियोजित रूपमा सिलिन्डर लुकाइएको तथ्य उजागर गरेको छ। यसले उपभोक्तामा बढ्दै गएको आशंका सत्य सावित गरेको स्थानीयले बताएका छन्।

अनुगमनका बेला लामो समयदेखि ग्यास नपाएर समस्यामा परेका स्थानीय महिलाहरूले उपमेयरसमक्ष आफ्ना गुनासा राखेका थिए। स्थानीय गृहिणी सुजीता तामाङले एक सातादेखि ग्यास नपाउँदा बच्चाको खाना पकाउन समेत कठिन भएको बताउँदै केही घरपरिवार दाउरामा फर्किन बाध्य भएको गुनासो गर्नुभयो। 

उपभोक्ताको पीडा प्रत्यक्ष रूपमा बुझ्न उपमेयर अर्याल स्वयं नेपाल प्रहरी, नगर प्रहरी, उपभोक्ता अधिकारकर्मी, नगरपालिकाका कर्मचारी तथा पत्रकारसहितको टोली लिएर पूर्वसूचना बिना बजारमा पुग्नुभएको थियो। उहाँले डिलरका स्टोररूम, भण्डारण कक्ष तथा गोदामहरूको प्रत्यक्ष निरीक्षण गर्दै तथ्य तत्काल सार्वजनिक गर्नुभएको थियो।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमेयर अर्यालले “नगरपालिका जनताको पक्षमा उभिएको छ, उपभोक्ता ठगिने अवस्था सहन सकिँदैन” भन्दै कुनै पनि प्रकारको कृत्रिम अभाव, कालोबजारी वा लुकाइछिपाइ गरिएको पाइए तुरुन्त नगरपालिकालाई जानकारी दिन आग्रह गर्नुभयो। 

धर्मराज लम्साल ले पनि ग्यासको कृत्रिम अभाव गराउनेमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभयो। उहाँका अनुसार बजार नियमनलाई निरन्तरता दिइनेछ र अत्यावश्यक वस्तुमा कुनै पनि प्रकारको कृत्रिम संकट सिर्जना गर्नेलाई छुट दिइने छैन।

यस घटनाले तारकेश्वर नगरपालिकामा उपभोक्ता संरक्षण, बजार अनुशासन र सार्वजनिक उत्तरदायित्वका सवालमा उपमेयर सृजना बुर्लाकोटी अर्यालको सक्रिय नेतृत्वलाई थप मजबुत रूपमा स्थापित गरेको छ। स्थानीय तहको नेतृत्व केवल प्रशासनिक भूमिकामा सीमित नभई प्रत्यक्ष जनसरोकारका विषयमा हस्तक्षेपकारी बन्न सक्छ भन्ने उदाहरण यो कदमले प्रस्तुत गरेको छ। स्रोत:सगरमाथा पोस्ट


प्रतिक्रिया