समानुपातिक बन्दसूचीमा ऐतिहासिक मोडः प्रतिनिधिसभा निर्वाचनमा पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी

ecopolinews.com

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेश गरेको अन्तिम बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ कुल ३,१३५ उम्मेदवारमध्ये १,७७२ जना महिला रहेका छन् भने १,३६३ जना पुरुष छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दल सहभागी भएका छन् । आयोगले यस निर्वाचनका लागि कुल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ । महिलाको सहभागिता संख्यात्मक रूपमा पुरुषभन्दा अघि बढ्नु नेपाली राजनीतिक इतिहासमै एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसले समावेशी लोकतन्त्र, लैङ्गिक समानता र प्रतिनिधित्वको नयाँ आधार निर्माण गरेको संकेत गर्दछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ (२) बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार कानुनी मापदण्ड पूरा नगरेका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ ।

हटाइएकामध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेशसभा समानुपातिक बन्दसूचीमा दोहोरो नाम परेका २५ जना, तोकिएको जरिवाना नतिरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नपरेका १ जना तथा सम्बन्धित राजनीतिक दलको आग्रहमा नाम हटाइएका १० जना रहेका छन् ।

महिलाको अग्रसर सहभागितासहित सार्वजनिक भएको यो अन्तिम बन्दसूचीलाई राजनीतिक प्रणालीमा सकारात्मक परिवर्तन, उत्तरदायित्व र समावेशीताको बलियो सन्देशका रूपमा लिइएको छ । आगामी निर्वाचनले यस प्रतिनिधित्वलाई व्यवहारमा कत्तिको प्रभावकारी बनाउने हो भन्ने चासोसमेत बढेको छ ।

प्रतिक्रिया